रामेछाप, ४ जेठ । रामेछापमा एक विद्यालयका प्रधानाध्यापकले आफ्नै विद्यालयमा पढ्ने विद्यार्थीलाई कुटपिट गर्दै जबरजस्ती पिसाब खुवाएका छन् ।
लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी बुद्ध तामाङ र लाक्पा तामाङलाई पिसाब खुवएका हुन् ।
विद्यालयका प्रधानध्यापक केबलबहादुर तिमिल्सिनाले आफूहरुलाई कुटपिट गरी पिसाब खुवाएको उजुरी दुई विद्यार्थीले प्रहरीसमक्ष दिएका थिए ।
प्रधानाध्यापक तिमिल्सिनाले भने खराब काम गरेकाले दुई विद्यार्थीलाई सामान्य कारबाही गरेको प्रतिक्रिया दिएका छन् ।
कसरी यस्तो भयो ?
प्रधानाध्यापकका अनुसार जेठ १ गते बुद्ध, लाक्पा र गणेश बुढाथोकीले आफ्नै साथी साङविर तामाङलाई मिनरल वाटरको बोटलमा पिसाब र थुक मिसाएर खुवाएको विद्यालय प्रशासनमा खबर आयो ।
साङविर तामाङमाथि उनीहरुले त्यस्तो व्यवहार गरेपछि उनीहरुलाई कारबाहीस्वरुप त्यही बोटलको पानी खान दिएको र नमानेपछि पाइपले हिर्काएको तिमिल्सिनाले बताए ।
कारबाहीको क्रममा बोतलको पानी बुद्ध तामाङ र लाक्पा तामाङले पिएको र गणेश बुढाथोकीले पिउन नमानेपछि मात्र पिसाब भएको खुलेको उनले बताए ।
प्रधानाध्यापक तिमिल्सिनाले कक्षा ९ मा पढ्ने विद्यार्थी ममिता तामाङलाई समेत कुटपिट गरेका छन् । साथीसंग झगडा गरेको भन्दै उनले कुटपिट गरेका हुन् । ममिता गाँजा खाएर विद्यालय आउने गरेको र साथीहरुसंग झगडा मात्र गर्ने गरेकाले गालामा पाँच चट्कन हानेको प्रधानाध्यापक मिल्सिनाले बताए ।
विद्यालय व्यवस्थापन समितिको बैठकले प्रधानध्यापकलाई हटाएको गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काले बताए ।