एकताको दिन किन रोपियो बालुवाटारमा विदेशी बिरुवा ?

NEWS

काठमाडौं, ३ जेठ । एकता संयोजन समितिको बैठक बस्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा बिरुवा रोपेका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक सुरु हुनुअघि दुई अध्यक्षले प्रधानमन्त्री निवास बालुवाटारमा बिरुवा रोपेका हुन् ।

उनीहरुले प्रत्येक ६ महिनामा पातको रंग फेरिने जापानी प्रजातिको जिन्को नामको विरुवा रोपेका हुन् । जुन विरुवा दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानमा अणुबम खसाल्दासमेत मरेको थिएन ।

वल्खुस्थित स्वर्गीय जननेता मदन भण्डारीको शालिक अगाडि उभिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले अणु वमको चर्चा गरेलगत्तै प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ओली र प्रचण्डले अणु वमले पनि क्षति गर्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उदघोष गरेका छन् ।

प्रधानमन्त्री ओलीले विभिन्न साना साना तत्वहरु मिसिएर खतरनाक अणुवम बन्ने भन्दै नेपाल कम्युनिस्ट पार्टी त्यस्तै साना साना तत्वहरुको सम्मिश्रण भएको टिप्पणी गरेका थिए । त्यसलगत्तै पार्टी एकता संयोजन समिति बैठकका लागि बालुवाटार पुगेका नेताहरुले संयुक्त रुपमा जापानी प्रजातिको ‘जिन्को’ नामक विरुवा रोपेका हुन् ।

पार्टी एकीकरणको खुसियालीमा वृक्षरोपण गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । ओली र प्रचण्डले एक एकवटा ‘जिन्को वाइलोवा’ नामक विरुवा रोपेर पानी हालेका थिए । सो अवसरमा अन्य नेताहरुले पनि विरुवामा पानी हालेर पार्टी एकता अणुवमहरुले पनि ध्वस्त नगर्ने गरी बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बृक्षारोपण कार्यक्रममा ओली–प्रचण्डका साथै पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल, मन्त्रीहरु र एमाले–माओवादी केन्द्रका नेताहरु पनि सहभागी थिए ।

जिन्को विश्वकै पुरानो वनस्पति मानिन्छ । यो बिभिन्न औषधीहरु बनाउन पनि प्रयोग हुन्छ । यसको अस्तित्व २७० मिलियन वर्षअघि पृथ्वीमा रहेको वैज्ञानिकहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *