काठमाडौं , ३ जेठ । कतार सरकारले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजानमा दैनिक ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाता कम्पनीलाई कारबाही गर्ने सूचना जारी गरेको छ ।
कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला मन्त्रालयका अनुसार रमजानको अवसरमा कार्यअवधि घटाएर ६ घण्टा कायम गरिएको छ । काम गर्ने समय ६ घण्टा कायम गरे पनि रोजगारदाताले पूरा दिनको लतब र सेवासुविधा भुक्तानी गर्नुपर्ने छ ।
मन्त्रालयले ६ घण्टाभन्दा बढी काम लगाउने रोजगारदाताविरुद्ध उजुरी दिन अनुरोध गर्दै त्यस्तो पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।
कतारमा झन्डै ४४ हजार कम्पनीमा २३ लाख आप्रवासी कामदार छन् । ती मध्ये चार लाख नेपाली छन् । इस्लामिक मामिला मन्त्रालयका अनुसार बिहीबरबाट रमजान सुरु हुँदैछ ।
इस्लामी पात्रोअनुसार आठौं साबान महिनाको अन्तिम दिन आकाशमा चन्द्रमा उदाएको भोलिपल्टदेखि रोजा बस्न सुरु हुन्छ ।
कामदारको समस्या समाधानको प्रयास
कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ ।
दूतावासले पीडित नेपाली कामदारसँग निवेदन लिई समाधानका लागि कतार सरकारको श्रम विभागमा पठाएको हो । दूतावास आफैंले रोजगारदातासँग समन्वय गरी नसुल्झेका विषय समाधानका लागि कतारी निकायसमक्ष पठाउने व्यवस्था छ ।
पीडितमा तीन महिना भन्दा बढी तलब तथा सेवा सुविधा नपाउनेहरु छन् । दूतावास आफैंले ५ सय ३० नेपालीको कामदारको समस्या समाधान गरेको जनाएको छ । -कान्तिपुरबाट