काठमाडौं, २ जेठ । चलचित्रहरुमा कलाकारहरुले गर्ने कार्य वास्तविक रुपमा निर्माताले गर्ने गरेको एउटा घटना प्रहरीले सार्वजनिक गरेको छ । त्यो हो नक्कली नोटको कारोबार । नेपाली चलचित्र क्षेत्रमा ख्याती कमाएका एक जना निर्मातालाई नक्कली नोटको कारोबारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
नेपाली चलचित्र क्षेत्रमा नयाँ ट्रेन्ड स्थापित गर्न सफल चलचित्र हो लुट । त्यहि लुटका निर्माता माधवराज वाग्लेसहित उनको समूह बुधबार २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेको छ । लुट, लुट–२, छड्के, रेशम फिलिली, चंगाचेट लगायतका चर्चित फिल्म निर्माण गरेका छन् वाग्लले ।
प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंका केही छापाखानालाई ‘फिल्म निर्माणका लागि’ भन्दै वाग्लेले एक हजार दरका नक्कली रुपैयाँ छाप्ने अर्डर दिने गरेको र उक्त नक्कली रुपैयाँ आफ्नै स्टाफमार्फत सप्लाई गर्ने गरेको पाइएको छ ।
कसरी थाहा भयो ?
प्रहरीका अनुसार,
-मंगलबार काठमाडौं महानगरपालिका–२६ मित्रनगरमा रहेको सुमधुर क्याफेमा माधव वाग्लेको प्रिन्सेस मूभिजका कार्मचारी खाजा खान पुगे ।
-खाजा खाइसकेपछि उनीहरुले पैसा तिरे । क्याफे (खाजा घर) सञ्चालकले पैसा लिए, पैसा हेर्दा उनलाई शंका लाग्यो ।
-पैसा नक्कली भएको आशंकामा खाजा घरका सञ्चालक महानगरीय प्रहरी प्रभाग गोंगबु पुगेर पैसा प्रहरीलाई देखाए ।
-त्यसपछि प्रहरीले यस विषयमा अनुसन्धान सुरु गर्यो । र फिल्म निर्माता वाग्लेको नक्कली नोट छाप्ने धन्दा सार्वजनिक भयो ।
-महानगरीय प्रहरी प्रभाग गोंगबुका इन्सपेक्टर प्रताप पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले वाग्लेसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छापाखानाका सञ्चालकहरु प्रकाश सुवेदी र विकेश नापित तथा सुर्खेत घर भई कमलपोखरी बस्ने २४ वर्षीय महेन्द्र बोगटी, सिन्धुली घर भई ललितपुरको लुभू बस्ने २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङ रहेका छन् ।
प्रहरीका अनुसार,
-महेन्द्र बोगटीलाई खानतलासी गर्दा उनको साथबाट १ लाख २० हजार नक्कली रुपैयाँ बरामद भयो ।
-महेन्द्र बोगटीको सूचनाको आधारमा प्रहरीले सिन्धुली स्थायी घर भएर ललितपुर बस्दै आएका २४ वर्षीय सुजित तामाङ र १९ वर्षीय साजन तामाङलाई नियन्त्रणमा लियो । निजहरुको कोठा खानतलासी गर्दा ७ लाख ४३ हजार नक्कली रुपैयाँ फेला पर्यो ।
-बुधवार बिहान प्रहरी टोली माधवराज वाग्लेको कोठामा छापा मार्यो । काठमाडौं महानगरपालिका–१ चारढुंगेस्थित वाग्लेको कोठाबाट २ करोड ५२ लाख नक्कली रुपैयाँ बरामद भयो ।
-सुजित तामाङ, साजन तामाङ र महेन्द्र बोगटी वाग्लेका कर्मचारी हुन् । वाग्लेले तिनै कर्मचारीमार्फत नक्कली रुपैयाँ बजारमा पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
-वाग्लेका कर्मचारीहरुले सक्कली रुपैयाँमा मिसाएर, होटल रेष्टुरेण्टमा, लागु औषध कारोबारी र यौनकर्मीहरुमार्फत नक्कली रुपैयाँ बजार पठाउने काम गर्दै आएको देखिएको छ ।
-वाग्लले उक्त नक्कली रुपैयाँ ‘फिल्म निर्माणको लागि भन्दै छाप्न लगाएको प्रतिक्रिया दिएका छन् । उनले सुटिङका लागि रकम जम्मा गरेको रकमको बाहना बनाएका छन् ।
-वाग्लेले बागबजारमा रहेको नवज्योती प्रिन्टिङ प्रेस र भोलेबाबा प्रिन्टिङ प्रेसका सञ्चालकलाई नक्कली नोट छाप्न दिएका थिए । छापाखानाबाट नक्कली नोट छाप्ने ८ थान मेटल प्लेटसमेत बरामद भएको छ ।
यसरी नक्कली नोट छाप्नेलाई बिगो बमोजिम जरिवाना र १० बर्ष कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।