काठमाडौं – शुक्रबार (वैशाख २८) देखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको भ्रमणमा आउँदै छन् । यसै विषयमा नेपाल र भारतबीचको पहिले र अहिलेको सम्बन्धमा पर्न सक्ने फरकको सन्दर्भमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो तर्क प्रस्तुत गरेका छन् ।
जतिबेलादेखि राष्ट्रिय राज्यहरु बने । त्यसबेलादेखि नै प्रत्येक राज्यले आफ्नो स्वार्थलाई केन्द्रमा राखेको चाणक्य नीतिको उदाहरण दिँदै अहिलेसम्मका सबै राजनीतिक शास्त्रसम्बन्धी बुझाई राख्नेहरुले यो कुरा सबैभन्दा पहिले बुझ्नुपर्ने डा. भट्टराईको तर्क छ ।
ठुला र सानाको सम्बन्धमा जहिले पनि ठुलाले सानालाई अधिनमा राख्न खोज्ने र, सानाले ठुलाको पन्जाबाट उम्कने प्रयत्न गर्ने उनको बुझाइ छ । यो व्रिटिश साम्राज्य हुँदादेखि नै हुँदै आएको र संसारभर नै त्यही अवस्था रहेको उनी बताउँछन् ।
उनी भन्छन्, ‘हामीभन्दा भारत कैयौं गुणा ठुलो छ । हामी सानो छौं । त्यसैले उसले अपवाद होइन नियमअनुसार नै हामीमाथि प्रभुत्व जमाउन खोज्छ । हामी फेरि उसबाट निस्केर आफ्नो स्वतन्त्रता कायम राख्नुपर्छ भन्छौं । यो सुरुदेखि नै चलिआएको द्वन्द्व हो । यसलाई हामीले घटनाभन्दा पनि प्रक्रियाका रुपमा बुझ्नुपर्छ ।’
मोदीको भ्रमणलाई सामाजिक सञ्जालमा व्याप्त टिकाटिप्पणी प्रति उनले हीनताबोधबाट ग्रसित हुनेहरुको अभिव्यक्ति भनी टिप्पणी गरेका छन् । बुधबार एक अन्तवार्ताको क्रममा उनले भनेका छन्, ‘चाहे व्यक्ति होस् या राज्य कहिले अतिशयक्तिपूर्ण ढंगले प्रवृत्ति देखाउने अनि कहिले आफ्नो एउटा लाभको निम्ति ठुला विरोधका चर्का स्वर निकाल्ने प्रवृत्ति हामीकहाँ पनि सुरुदेखि नै छ ।’
हामी आफू स्वाभिमानी हुनुपर्ने बताउँदै बुद्धिमतापूर्वक नेपालको फाइदा हेर्नुपर्ने उनको तर्क छ । कसैलाई दलालै भनिहाल्ने, अथवा फेरि चर्को अन्धराष्ट्रवादको नारा दिएर जनताको देशभक्तिपूर्ण भावना भड्काएर आफ्नो निजी लाभ लिने प्रवृत्ति गलत भएको डा. भट्टराइले बताए ।
सामाजिक सञ्जालमा निकै विरोध भएको प्रति इंगीत गर्दै उनले यस्ता क्रियाकलापबाट अपरिपक्वतापन देखिएको उल्लेख गरे । कुनै पनि देशसँग हाम्रा समस्या छन् तर त्यसलाई संरचनागत ढंगले समीक्षा गरेर हल गर्नुपर्ने उनको सुझाव छ ।
उनले भने, ‘भारतलाई गाली गरेर पनि हुँदैन, लम्पसार परेर पनि हुँदैन । तर मोदी आउँदा स्वागतमा कन्जुस्याईँ गर्नुहुँदैन । गालीगलौज गर्न हुँदैन । उनले थपे, सोसल मिडियामा जसरी आएको छ त्यो पनि गर्नुहुँदैन । हाम्रो कुरा दह्रोसँग राखौं तर पाहुनालाई हामीले गाली गर्नुहुँदैन । यो हाम्रो संस्कार हुँदै होइन । हामीले हाम्रो सरकारलाई भन्ने हो । चीन अमेरिका जहाँबाट आएको पाहुना भएपनि गाली गर्नुहुँदैन ।’