काठमाडौं – सिण्डिकेट माग गर्दै यातायात बन्द गरेका यातायात व्यवसायीलाई सरकारले पक्राउ गर्न थालेको छ ।
गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् ।
प्रहरीले बुटवलको ट्राफिकचोकबाट संघका उपाध्यक्ष जीवन वञ्जाडे र महासचिव पदम गाहालाई पक्राउ गरेको हो ।
त्यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपाने पक्राउ परेका छन् ।
त्यस्तै नारायणी यातायातका अध्यक्षसहितको खोजी गर्न प्रहरी टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
गृहमन्त्री रामबहादुरले यातायात सेवा अवरुद्ध गर्ने यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुरुप कारवाही गर्न निर्देशन समेत दिएका छन् ।