एजेन्सी – गैरकानूनीरुपमा फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी तथा प्रयोग गरेको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ ।
आफ्ना राजनीतिक क्लाइन्टहरुका लागि गैरकानूनीरुपमा फेसबुकका प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरी तथा प्रयोग गरेको आरोप क्याम्ब्रिज एनालिटिकामाथि लागेको छ ।
फेसबुकका अनुसार एउटा क्वीज एपको मद्दतले आफ्ना ८ करोड भन्दा बढी प्रयोगकर्ताको व्यक्तिगत विवरण चोरिएको थियो ।
समाजिक सञ्जाल फेसबुकले घटनामा आफ्नो आन्तरिक जाँच जारी रहने जनाएको छ ।
क्याम्ब्रिज एनालिटिका राजनीतिक परामर्शदाता कम्पनी हो ।
क्याम्ब्रिज एनालिटिकाले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचन र बेलायतको ब्रेक्जिट जनमतसंग्रहको परिणामलाई प्रभावित पार्न फेसबुकबाट करोडौँ प्रयोगकर्ताको व्यक्तिगत विवरण अनाधिकृत रुपमा प्रयोग गरेको आरोप छ ।
क्याब्रिज एनालिटिकाका प्रवक्ता क्लेरेन्स मिसेलले बीबीसीसँग कुरा गर्दै कम्पनीविरुद्धको मिडिया कभरेजका कारण आफ्ना सबै क्लाइन्टहरुले कम्पनीसँगको आबद्धता अन्त्य गरेको कारण कम्पनी अब बन्द गर्नुपरेको बताएकी छिन् ।