सुन तस्करीका मुख्य अभियुक्त विमानस्थलबाट पक्राउ

UNCATEGORIZED
5 Shares

काठमाडौं – १४ किलो सुन तस्करीमा संलग्न मुख्य अभियक्त एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

चीनबाट तस्करीको सुन नेपाल पठाउने मुख्य व्यक्ति मध्येकी एक चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

चीनबाट नेपाल आउने क्रममा ४० वर्षकी महिलालाई प्रहरीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

२०७४ भदौ १४ गते काठमाडौंको सामाखुशीबाट बरामद गरिएको १४ किलो सुन तस्करीमा उनको संलग्नता देखिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जानकारी दिएको छ ।

राजकुमारसँग सम्पर्क
उनी धेरै पटक नेपाल आउने जाने गरिरहने र चीनबाट राजकुमार पौडेलको सम्पर्कमा रहेर नेपालमा सुन पठाउने गरेको सीआईबीले जानकारी दिएको छ ।

प्रहरीले १४ किलो सुन तस्करीमा उनको संलग्नताको आशंकामा अनुसन्धान अघि बढाएको छ ।

जेझोङ फरार
उक्त मुद्दामा प्रहरीले ७ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । हाल सो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको छ । चिनियाँ नागरिक जेझोङ मुद्दाका मुख्य फरार प्रतिवादी हुन् ।

अनुसन्धान
प्रहरीले उनीविरुद्ध संगठित अपराध (अवैध सुन ओसार पसार) मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद लिई अनुसन्धान सुरु गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *