एजेन्सी – अमेरिकी राज्य टेनेसीको न्यासभिल शहरको बाहिरी क्षेत्रमा गोलीबारी भएको छ ।
बन्दुक बोकेका एक नग्न व्यक्तिले रेष्टुरेन्टमा गोलीबारी गर्दा चारको मृत्यु भएको छ ।
बीबीसीका अनुसार, ती व्यक्ति स्थानीय समयानुसार बिहान तीन बजेर २५ मिनेटमा न्यासभिलको दक्षिण–पूर्वी उपनगर एनिटोचको व्याफले हाउसमा छिरे । र, सेमी अटोमेटिक राइफलद्वारा गोलीबारी सुरु गरे ।
घटनामा अन्य दुईजनासमेत घाइते भएका छन् । तीमध्ये एकले हमलाकर्ताको हातबाट उनको राइफल खोसेका थिए । यसै क्रममा हमलाकर्ता घटनास्थलबाट फरार भए ।
पुलिसले हमलाकर्ताको पहिचान २९ वर्षीय ट्रेविस रेनकिंगको रुपमा गरेको छ । उनको खोजी कार्य जारी छ ।
न्यासभिलका पुलिस प्रवक्ता डान एरोनका अनुसार ट्रेविसलाई गत वर्ष ह्वाइट हाउस नजिकैबाट पक्राउ गरिएको थियो । उनलाई प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेपछि पक्राउ गरिएको थियो ।
कसरी भयो हमला ?
हमलाकर्ता एक पिकअप ट्रकमार्फत रेष्टुरेन्ट बाहिर पुगे र लगत्तै बाहिरका दुईजनामाथि गोली हाने । त्यसपछि उनले रेष्टुरेन्ट भित्र गएर गोलीबारी गरे ।
तीनजनाको घटनास्थलमा नै मृत्यु भयो भने चौथो व्यक्तिको अस्पतालमा मृत्यु भयो ।
पुलिसका अनुसार हमलाकर्ता नग्न थिए र उनले शरिरमा एक हरियो ज्याकेट राखेका थिए । घटनास्थलबाट भाग्ने क्रममा त्यो ज्याकेट पनि खसेको पुलिसले जानकारी दिएको छ ।