चितवन, ५ वैशाख – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताउनुभएको छ ।
प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले चुनाव चिन्हका विषयमा छलफल जारी नै रहेको बताउनुभयो ।
दुई पार्टीका बीचमा कुरो नमिलेको भन्ने विषय नरहेको तर छलफल हुन बाँकी रहेको उहाँले प्रष्ट्याउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओली र आफू आज कार्यक्रममा व्यस्त हुने भन्दै उहाँले भोलि दुई अध्यक्षका बीचमा बैठकपछि पार्टी एकता घोषणाको मिति तय हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौं ।” त्यसो हुँदै गर्दा पनि वैशाख महिनाभर भने नलाग्ने उहाँको भनाइ छ । यकिन मिति दुई अध्यक्षले टुंगो लगाउने भए पनि पार्टी एकताका लागि धेरै दिन कुर्न नपर्ने उहाँले बताउनुभयो ।
दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै उहाँले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको बताउनुभयो ।