गैरआवासीय नेपाली संघ (एनआरएनए) को ओसियाना क्षेत्रीय संयोजक पदमा अष्ट्रेलियाबाट रमेश जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।
जोशी एनआरएनए ओसियाना पूर्व क्षेत्रीय उप-संयोजक हुन् । अष्ट्रेलियाका पूर्व उपाअध्यक्ष समेत रहेका जोशी एक दशकभन्दा लामो समयदेखि यस अभियनमा सकृय छन् ।
पछिल्लो समय ओसियाना क्षेत्रमा गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको, नेपाली समुदायका चासो र आवश्यकताका मुद्धाहरुमा काम गर्ने उद्देश्य सहित आफुले उम्मेद्वारी दिएको जोशीले बताए ।
जोशीले भने ” यस क्षेत्रमा हाम्रो जनसंख्या बढ्दै गर्दा हाम्रा समुदायका आवश्यकताहरु र समस्या पनि बढ्दै गएका छन् यसको समाधानका निम्ति यस क्षेत्रमा रहेका सबै एनआरएनए र संघ-संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने योजना अनुरुप निर्वाचनमा सहभागी हुदै छु ।”
देशबाट परदेशमा बसाई सराई गर्ने पहिलो पुस्ताका चुनौती, आफ्नो संस्कृती र परम्परा पुस्तान्तरण गर्दै परदेशमा हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपाली माटोसँग जोड्ने योजना र कार्यक्रमहरुमा समेत आफुले गृहकार्य गरिरहेको उनले बताए ।
ओसियाना क्षेत्रमा बस्ने धेरै नेपालीहरु यहाँका बिभिन्न क्षेत्रमा विशेषज्ञ रुपमा काम गरिरहेको र त्यो ज्ञान र शिपलाई नेपालसँग जोड्नको लागि समेत आफ्नो कार्यकालमा काम गर्ने जोशीको प्रतिवद्धता छ ।