काठमाडौं । परामर्श व्यवसायीहरूको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वमा महासचिव राजु निरौलाको प्यानलै विजयी भएको छ ।
शनिवार काठमाडौंमा आयोजित १२औं वार्षिक साधारणसभा पश्चात् भएको निर्वाचनमा निरौलाको प्यानल विजयी भएको हो ।
करिब दुई सय सदस्य रहेको फेकनमा इलेक्ट्रोनिक्स भोटिङ प्रणालीबाट भएको निर्वाचनमा झण्डै ८२ प्रतिशत मतदान भएको बताइएको छ ।
निर्वाचनमा निरौला प्यानल बाहेक ३ स्वतन्त्र उम्मेदवार र वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत नेतृत्वको प्यानल सहभागी थिए ।
बस्नेत प्यानलका दुई उम्मेदवार बाहेक अरू उम्मेदवारले निर्वाचनअघि प्रक्रियामा असन्तुष्टि जनाउँदै निर्वाचन बहिस्कार गरे ।
सबै प्रक्रिया पूरा भएको भन्दै स्वतन्त्र निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया अघि बढाएको थियो ।
नवनिर्वाचित अध्यक्ष निरौलाले फेकनलाई व्यवसायीमैत्री बनाउँदै आफू अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
फेकन तीन प्रदेशमा विस्तार भइसकेको र आफ्नो कार्यकालमा सात वटै प्रदेशमा विस्तार हुने उनले जानकारी दिए ।
नयाँ शिक्षा ऐन आउने तयारीमा रहेको र उक्त ऐनमा धरौटीको विषयमा पनि जोडिएको आफूहरुले त्यसको व्यापक विरोध गर्ने उनले बताए ।
एनओसीको समस्या समाधानमा पहल गर्ने, व्यवसायीलाई विभिन्न तालिम प्रदान गर्ने उनको प्रतिबद्धता छ ।
उपाध्यक्षमा पराजित रेश्मा राजथलाले विजयी उम्मेदवारलाई बधाई दिँदै संस्थाको उचाइ बढाउने गरी काम गर्न शुभकामना दिइन् ।
बस्नेत प्यानलबाट उम्मेदवारी दिएका गगन विष्ट र निराजन सिवाकोटीले जित हार दुवै स्वीकार गरेर संस्थाको हितको लागि सधैं काम गर्न तयार रहेको बताए ।
यस्तो छ नयाँ कार्यसमिति
अध्यक्ष : राजु निरौला
उपाध्यक्ष : उमेश कुश्वार
उपाध्यक्ष : अमित बाबु ढुङ्गाना
उपाध्यक्ष : दिपक सिलवाल
महासचिव : छविन्द्र ओझा
सचिव : इन्द्रजित गौतम
सचिव : पृथ्वी ब चन्द
कोषाध्यक्ष : दिपेन्द्र पोखरेल
सह-कोषाध्यक्ष : गौतम पुडासैनी
सदस्य
राजकुमार ढकाल
मञ्जु लामिछाने
रोशन खरेल
एलिजा उप्रेती
सञ्जय बस्नेत
खगेन्द्र श्रेष्ठ
महेश हमाल