ललितपुर । विपद्को क्षति न्युनीकरणका लागि परम्परागत ज्ञान र सीपलाई आधुनिक शिक्षासँग फ्युजन गरेर संरचनाहरु निर्माण गर्नुपर्ने धारणा विज्ञहरुले राखेका छन् ।
ललितपुरस्थित लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीले आयोजना गरेको ‘स्थानीयस्तरमा विपद् व्यवस्थानपन’बारेको सेमिनारमा बोल्दै पूर्व शिक्षामन्त्री देवेन्द्रराज पौडेलले व्यवस्थित बस्ती विकास कार्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।
‘खोला किनारमा बस्ती बनाइएको छ, भीरमा बस्ती छ । त्यहाँ सडक बनाउनुको साटो ती बस्तीलाई जोखिमरहित ठाउँमा सार्ने र व्यवस्थित गर्ने काम प्राथमिकतामा राख्नुपर्छ,’ उनले भने,‘ आधुनिक शिक्षाका नाममा कंक्रिटका घर बनाएरमात्रै क्षति न्युनिकरण हुँदैन । स्विचरल्यान्ड, जापानमा काठको घर बनाउन हुन्छ भने हाम्रोमा किन हुँदैन ? ढुंगा माटोको प्रयोगबाट पनि टिकाउ घर बनाउन सकिन्छ । यसबाट पनि बलियो घर बनाउन सकिन्छ । हाम्रो ध्यान स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरेर बलियो संरचना बनाउनेतर्फ जानुपर्छ ।’
बागमति प्रदेश सरकार प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रोफेसर डा. नरविक्रम थापाले शैक्षिक कोर्सलाई संशोधन गर्नुपर्ने समय आएको बताए ।
‘पश्चिमा ज्ञान र सीपले मात्रै काम गर्दैन । यसलाई रैथाने ज्ञानसँग जोड्नुप¥यो । ग्राफ्टिङ गरेका बिरुवाले उन्नत फल दिएजसरी नै फ्युजन गरिएको त्यो ज्ञानले पनि राम्रो नतिजा दिन्छ,’ उनले भने,‘रैथाने ज्ञान र सीपलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा अर्बन प्लानरहरुले बुझ्न जरुरी छ । त्यसैले अब हाम्रो शैक्षिक कोर्सलाई पनि रिभाइज गर्नुपर्ने समय आएको छ ।’
मुख्य वक्ताका रुपमा बोल्दै नास्टका पूर्व उपकुलपति प्रोफेसर जीवराम पोखरेलले विपद् व्यवस्थापनका लागि दिर्घकालिन योजनाहरु बनाउनुपर्ने बताए । ‘पर्याप्त योजना बनाएर त्यसलाई उचित रुपमा कार्यान्वयन गर्नुपर्छ । रैथाने ज्ञानलाई अद्यावधिक गरेर प्रयोगमा ल्याइयो भने अहिले पनि काम लाग्छ,’ उनले भने,‘हाम्रो स्थानीय स्तरमा ढुंगा–माटोले निर्माण गर्ने घर, पोखरीलगायतको आफ्नै महत्व छ । यी महत्वबारे पनि अब पढाई हुनुपर्छ ।’
प्रोफेसर डा. मुरली गोपाल रन्जितकार, वरिष्ठ इन्जिनियर डोरबहादुर योगी तथा एनसेटका वरिष्ठ इन्जिनियर कपिल भट्टराईले विपद् न्युनीकरणबारे आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।
भूकम्प र बाढी–पहिरोबाट बच्नका लागि आवश्यक संरचना, उद्धार तथा पुनस्र्थापनामा खेल्नुपर्ने भूमिकालगायत विविध विषय कार्यपत्रमा समावेश छन् ।
सामुदायिक स्तरमा आईशोलेसन सेन्टर बनाएर कोभिड महामारीको समय झन्डै ५ सय बिरामीलाई सेवा दिने चमेली महर्जन र रामदेवी महर्जनलाई कार्यक्रममा लुम्बिनी इन्टरनेशनल एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजीका प्रिन्सिपल प्रोफेसर डा. खेतराज दाहालले सम्मान गरे ।