चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आज (सोमबार) उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्तापछि लामिछानेले भने-
-उपनिर्वाचनबाट उत्साहित र आशावादी छु ।
-विगतमा पनि यही प्रक्रियाबाट निर्वाचित भएको र अहिले फेरि त्यही प्रक्रिया अपनाउँदा केही अनौठो लागेको छ ।
-यो राजनीतिक जीवनमा, मान्छेको जीवनमा भइरहने घटना हुन् ।
-आफूले जीवनमा यस्ता किसिमका परिस्थितिहरुको सामना गर्दा केही अनौठो लागेको छ ।
-म एकदमै आशावादी छु, उत्साहित छु ।
मतान्तर कति होला भन्ने प्रश्नमा लामिछानेले त्यो निर्वाचनपछि मात्र थाहा हुने बताए ।
कांग्रेस नेता जगन्नाथ पौडेलको समर्थन रास्वपालाई
चितवनका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
पौडेलले भने-
-मेरो समर्थन रास्वपालाई छ ।
-छोटो समयमा देशले रुपान्तरण खोजेको छ । त्यो रुपान्तरणको निमित्त उपयुक्त टिमको आवश्यकता छ र त्यो टिममा ऊर्जावान व्यक्तिहरुको आवश्यकता छ । त्यो समूह भनेको स्वतन्त्र पार्टीहरुको समूह हो ।
-त्यो भएको हुनाले उहाँहरुलाई सहयोग गर्दाखेरी देशले निकास पाउँछ भन्ने लाग्छ ।
-म स्वतन्त्रताप्रेमी मान्छे हुँ । लामो समय आन्दोलनमा जिन्दगी बित्यो । अब परिवर्तनको आवश्यकता छ ।
-पार्टी नै प्रवेश गर्ने कि समर्थनमात्र ? भन्ने प्रश्नमा पौडेलले ‘अहिले समर्थनमात्र’ भने ।
चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राप्रपाका जीवलाल पुरी उम्मेदवार छन् ।