नेपालको तेस्रो उपराष्ट्रपतिमा शुक्रबार दुई प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्य र ममता झालाई पराजित गर्दै रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार जनता समाजवादी पार्टी (जसपा) का नेता यादवले ३० हजार ३२८ मतभार पाउँदा दोस्रो भएकी शाक्य १६ हजार ३२८ र तेस्रोमा झाले २५ सय ३७ मात्रै मतभार ल्याएकी छन्।
उपराष्ट्रपति निर्वाचनका लागि जसपाले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो।
जसपा संसदीय दलका नेतासमेत रहेका यादव गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।
उनी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहालाई ३५४ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्य बनेका थिए।
१३ हजार आठ सय २२ मतका साथ यादव विजयी हुँदा कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका थिए। खरायो चिह्न पाएका स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भएका थिए।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि बारा–२ बाट विजयी यादव २०७८ सालमा केपी ओली नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए।
उनी २०७६ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच एकीकरण भई गठन भएको जसपाको कार्यकारणी समिति सदस्य भएका थिए।
त्यसअघि २०७५ मा संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भई गठित समाजवादी पार्टीमा महासचिवको जिम्मेवारी सम्हाली सकेका थिए।
२०४७ मा नेपाल सद्भावना पार्टीबाट राजनीति सुरु गरेका नवनिर्वाचित उपराष्ट्रपति यादव २०५९ सालमा तत्कालीन मधेसी जनअधिकार फोरममा आवद्ध भएका थिए।
२०६० फागुन ७ गते फोरमको बारा अध्यक्ष बनेका यादव सोही वर्ष भारतको पटनामा सम्पन्न बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका थिए। पहिलो संविधान सभामा समानुपातिकतर्फ सदस्य बनेका यादव २०६५ मा फोरमको महासचिव भएका थिए।
उनी २०५७ सालमा नागरिकता सम्बन्धी विधेयकका विषयमा भएको आन्दोलनका क्रममा काठमाडौंमा गिरफ्तार भएका थिए। २०६२/०६३ को जनआन्दोलनका क्रममा सक्रिय रहेका यादवलाई काठमाडौंबाट तत्कालीन राज्य पक्षले पक्राउ गरेको थियो।
यादवले बारा, पर्सा, रौतहट र कैलालीमा २०६२/०६३ मा भएको मधेश जनविद्रोहको नेतृत्व गरेका थिए। उक्त समयमा उनी ६ पटक पक्राउ परेका थिए।
सद्भावना पार्टीबाट राजनीति सुरु गरेपछि २०४८ सालमा शिक्षण पेशामा लागेका उनले २०६४ फागुन १६ गते शिक्षक पदबाट राजीनामा दिएका थिए।
२०२७ साउन ९ गते सिहवादेवी यादव र प्रसाद राय यादवको सन्तानका रुपमा जन्मिएका यादवले वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पसबाट गणितमा बीएड (२०५५) र भारतको मज्फ्फरपुरमा रहेको डा. बाबासोह भिमराव अम्वेडकर विश्वविद्यालयबाट गणित र विज्ञान विषयमा बीएससी (सन् १९९३) गरेका छन्।
बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरिया स्थायी ठेगाना भएका नव निर्वाचित उपराष्ट्रपति यादवका २ छोरा र १ छोरी छन्।
उनको गाउँमा एउटा साधारण घर छ। राजनीतिक सिलसिलामा उनी आफैं अधिकांश समय काठमाडौँमै हुने गरेका थिए। गाउँको घरमा उनकी धर्मपत्नी चम्पादेवी बस्दै आएकी छन्।
ओली नेतृत्वको तत्कालीन सरकारमा वनमन्त्री भएपछि पहिलोपल्ट गाउँ पुग्दा सामान्य भेषभूषामा रहने लजालु स्वाभावकी चम्पादेवीले स्वागत गर्दाको दृष्यले उपस्थितलाई भावविभोर बनाएका थियो।
पत्नीको भावुकता देखेर मन्त्री यादवले पनि आफूलाई रोक्न सकेका थिएनन्। उनले स्वागतका लागि पत्नीले ओढाएको दोसल्ला फुकालेर उनैलाई ओढाई दिएका थिए।
कोरोना संक्रमित बढ्दै
कोरोना भाइरसको सक्रिय संक्रमित फेरि बढ्न थालेको पाइएको छ।
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय संक्रमित बढिरहेका छन्।
फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन्।
फागुन २६ गते सक्रिय संक्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन्।
मन्त्रालयका अनुसार आज मात्र छ जना नयाँ संक्रमित र २० सक्रिय संक्रमित रहेका छन्।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय संक्रमित बढेको बताए।
न्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ।
अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ।
ओलीको चेतावनी : जनताले प्रतिवाद गर्न नपरोस्
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । नभए जनताले प्रतिवाद गर्ने उनको चेतावनी छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले देशद्रोही अभियानबारे सरकारलाई थाहा छ कि छैन भनेर प्रश्न गरेका छन् ।
‘यो देशको सन्तान भन्न पनि नसुहाउने, देशद्रोही कुरा गरेर हिँडेको छ । सरकारले लगाएको कि नलगाएको ? सरकार सुन्छ कि सुन्दैन ?’, उनले भने, ‘जनताले प्रतिवाद गर्न नपरोस्, शान्ति सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् ।’
सार्वभौसत्ता, राष्ट्रियताविरुद्ध कोही चम्किँदै हिड्छ भने जनताले प्रतिवाद गर्ने उनले बताए ।
‘कुनै बैंकका डिफल्टर हुन् कि जो सुकै हुन्, कसैलाई पनि जनताले सहन सक्दैन’, एमाले अध्यक्ष ओलीले भने, ‘लडेर बचाएको देश हो, साग र साइकल सस्तो पाइन्छ रे ! यो देशको अन्न खाएर जन्मिएको हुँ भन्ने मान्छे कसरी बोल्न सक्छ यो देश अर्कालाई जिम्मा लगाइदिऊँ ।’
यस्तो अभियान चल्दा पनि सरकार कानमा तेल हालेर बसेको भन्दै उनले प्रश्न गरेका छन् ।
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच पहिलो भेट
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतलनिवासमा पुगेका हुन् ।
पौडेल राष्ट्रपति निर्वाचित भइसकेपछि उनीहरुबीच पहिलो पल्ट भेट भएको हो ।
राष्ट्रपति पौडेल र भारतीय समकक्षीबीच टेलिफोन संवाद
राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय समकक्षी दौपत्री मुर्मुबीच टेलिफोन संवाद भएको छ ।
शुक्रबार साँझ भएको सम्वादमा भारतीय राष्ट्रपति मुर्मुले पौडेललाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिएकी छन् ।
दुई राष्ट्रपतिबीच द्वीपक्षीय सहयोग र आपसी विश्वासलाई अगाडि बढाउने विषयमा समेत कुराकानी भएको थियो ।
पत्रकारहरु बिक्रीमा छन् : सभामुख
सभामुख देवराज घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको भनी गम्भीर आरोप लगाएका छन् ।
नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसँगको भेटमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘पत्रकारहरुले जति जिम्मेवारीका साथ पत्रकारिता गर्नुपर्दथ्यो, त्यो खालको छैन्’ घिमिरेले अगाडि भनेका छन्, ‘पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । जे जे कारणले भए पनि तिनीहरु प्रभावित छन् । अझ भन्ने हो भने बिक्रीमा छन् पत्रकारहरु ।’ पत्रकारहरुकै बीचमा रहेर सभामुख घिमिरेले अझ अगाडि बढेर भनेका छन्, ‘पत्रकारहरु बिक्रीमा छन् । संघ (पत्रकार महासंघ) बिक्रीमा छ भन्यो सभामुखले भन्लान कि भनेर मैले रोकि राख्नुपर्दैन ।’
आफ्नो यस्तो गम्भीर टिप्पणीलाई बाहिर नभन्न स्वयम सभामुख घिमिरेले पत्रकारहरुसित आग्रह पनि गरेका छन् । ‘यो (आफ्नो गम्भीर आरोप) भन्न पनि हुँदैन तपाईंहरुले किनभने यो हाम्रो आफ्नो भित्री कुरा हो नि ।’ उनले भने ।
ठूला मिडिया हाउसहरुले प्रभावित पारेको, थर्काएर, किनेर अनेक ढंगबाट प्रभावित गरेको उनको आरोप छ । यसको प्रभाव समाजमा परेको उनको भनाइ छ ।
यस्तो कार्यबाट मुक्त भएर सरकार र पत्रकारहरुबीचको कसरी सम्बन्ध राम्रो बनाएर लाने भनेर सोच्नुपर्ने उनको आग्रह छ ।
ऐन ल्याउँदा र त्यसको कार्यान्वयन गर्दा, विनियमहरु बनाउँदासमेत पत्रकार र सरकारका बीचमा सम्बन्ध राम्रो हुनुपर्ने उनले बताए ।
बालाजु घटना : डीएसपीको तीन वर्ष बढुवा रोक्का
प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी वृत्त, बालाजुका पूर्वप्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टको तीन वर्ष बढुवा रोक्का गर्ने गरी कारबाही गरेको छ ।
यातायात व्यवसायीले १ फागुनमा गरेको प्रदर्शनमा व्यावसायिक जिम्मेवारी निर्वाह गर्न नसकेको निष्कर्षसहित विष्टलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलका अनुसार घटनाबारे छानिबन गर्न गठित डीआईजी मसाउद आलम खाँ नेतृत्वको समितिले दिएको सिफारिस अनुसार बढुवा रोक्काको निर्णय भएको हो ।
तत्कालीन समयमा प्रहरी वृत्त, सोह्रखुट्टेमा कार्यरत डीएसपी गणेशबहादुर बमलाई पनि सचेत गराउने निर्णय भएको छ । माछापोखरीमा प्रदर्शनकारीले प्रहरीको दुई वटा गाडीमा तोडफोड र आगजनी गरेका थिए । त्यति हुँदा पनि प्रहरीले प्रतिक्रिया जनाउन नसकेको आरोप लागेको थियो ।
प्रदर्शनकारीले विष्ट चढ्ने बा २ झ १४४ नम्बरको स्कर्पियोमा पनि तोडफोड र आगजनी गरेका थिए । घटनालगत्तै उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले उनलाई जिम्मेवारीबाट हटाएको थियो । प्रदर्शनका क्रममा यातायात व्यवसायीले ल्होत्से मलमा मोबाइल पसलमा लुटपाट समेत गरेका थिए । यो घटनामा प्रहरीले परिस्थितिको पूर्वमूल्यांकन गर्न नसक्दा चुक भएको छानबिन समितिको ठहर छ ।
आरण र खनाल परराष्ट्र सहसचिवमा सिफारिस
लोक सेवा आयोगले नेपाल परराष्ट्र सेवा, राज पत्रांकित प्रथम श्रेणी सहसचिवमा दुई जनालाई बढुवा नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले बढुवाका लागि रामेछाप मन्थलीका शरदराज आरण र मोरङ सुनवर्षीका लक्ष्मण खनाललाई सिफारिस गरेको हो ।
आन्तरिक प्रतियोगितातर्फ आयोगको विज्ञापन नं. १६६५२/०७९-८० अन्तर्गत लिखित परीक्षा उत्तीर्ण भइ चैत १ गते भएको अन्तर्वार्तामा सिफारिस चार जनामध्ये दुई जना बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस भएका हुन् ।
उम्मेदवारहरुको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उनीहरुलाई आयोगको शुक्रबार बसेको बैठकले सिफारिस गरिएको आयोगको अन्तर्वार्ता तथा सिफारिस महाशाखाले जानकारी दिएको छ ।
तिलोत्तमाले भुर्तेललाई ५० हजारसहित सम्मान गर्ने
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरबासी क्रिकेट खेलाडी कुशल भुर्तेललाई ५० हजार नगदसहित सम्मान गर्ने भएको छ ।
आईसीसी विश्वकप क्रिकेट लिग २ मा ११ खेल जितेर क्वालिफायरमा नेपाली टोली छनोट हुंदा भुर्तेलले महत्वपूर्ण योगदान गरेको भन्दै नगरपालिकाले सम्मान गर्ने निर्णय गरेको हो ।
‘नेपाली टिम विश्वकप क्रिकेटमा छनोट भएको र त्यसमा तिलोत्तमा नगरपालिकावासी कुशलको योगदान महत्वपूर्ण रहेकाले कुशललाई प्रोत्साहनका लागि नगरपालिकाले ५० हजार नगदसहित सम्मान गर्ने शुक्रबार निर्णय गरेको छ’, उपप्रमुख जगेश्वरीदेवी चौधरीले भनिन् ।
नगर कार्यपालिका सदस्य सुरेन्द्र श्रीले सकभर कुशललाई तिलोत्तमामै ल्याएर भव्य सम्मान गर्ने नगरपालिकाको योजना रहेको तर उनको समय व्यवस्थापनले साथ दिने नदिने यकिन नभएको बताए ।
पुटिनविरुद्ध पक्राउ पूर्जी
इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ ।
रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ ।
पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ भनेकी छन् ।