बेथानचोक-काठमाडौं जोड्ने सडक कालोपत्रे हुँदै

NEWS

काभ्रेको बेथानचोक गाउँपालिकालाई संघीय राजधानी काठमाडौं तथा प्रदेश राजधानी हेटौंडासँग जोड्ने सडकअन्तर्गत मुसेखोल्सादेखि चलाल गणेशस्थानसम्मको ३.५ किलोमिटर खण्डको स्तरोन्नती सुरु भएको छ ।

चलाल गणेशस्थानदेखि गेल्लुङसम्मको ५ किलोमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ ।

बुधबार गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिनालगायत जनप्रतिनिधिले स्तरोन्नती कार्यको उद्घाटन गरेका छन् ।

गाउँपालिकाले आफ्नै स्रोतबाट सडकको स्तरोन्नती गर्न लागेको हो ।

गत वैशाखमा निर्वाचित भएसँगै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले यस सडकलाई प्रदेश राजधानी हैटौंडासम्म विस्तार गर्ने योजना तयार गरेका थिए ।

यही योजनालाई अन्तिम रूप दिन एक साताअघिमात्रै अध्यक्ष अधिकारीको सक्रियतामा चारवटा गाउँपालिकाको संयुक्त बैठक मकवानपुरको बागमती गाउँपालिकामा बसेको थियो ।

बैठकमा काभ्रेको बेथानचोक गाउँपालिका र महाँकाल गाउँपालिका, ललितपुरको बागमती र मकवानपुरको बागमती गाउँपालिका क्षेत्रमा पर्ने सडकहरूको डिपिआर सम्बन्धित पालिकाले नै गर्ने सहमति भएको थियो ।

सडक स्तरोन्नतीपछि गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने तथा स्थानीयस्तरमा उत्पादित सामाग्रीलाई सहज र छिटो रुपमा निर्यात गरेर ग्रामिण अर्थतन्त्रलाई बलियो बनाउन सकिने अधिकारीले बताए ।

आगामी जेठ २५ भित्र निर्माण सम्पन्न गर्नेगरी श्री जोशी जी र घिसिङ जेभीलाई कालोपत्रे तथा ढलानको ठेक्का दिइएको छ ।

५.५ मिटर चौडाईको सडकको १ किलोमिटर १ सय ८५ किलोमिटर दूरी ढलान गरिने तथा २ किलोमिटर ५५० मिटर दूरी कालोपत्रे गरिने गाउँपालिकाका प्रवक्ता मधुसुदन तिमल्सिनाले जानकारी दिए ।

ल्याब टेस्ट गराएर गुणस्तरीय निर्माण सामाग्रीहरुमात्रै कालोपत्रेका लागि प्रयोग गरिने उनले जानकारी दिए ।

त्यस्तै, खोलाकिनारमा जाली ओछ्याउने, यसअघि बनाइएका ड्रेन बनाउने र नयाँ ठाउँमा ड्रेन बनाउने काम पनि हुनेछ ।

गाउँपालिकाले आगामी ५ वर्षभित्र गाउँका प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने तथा प्रत्येक वर्ष कम्तिमा ५ किलोमिटर सडक कालोपत्रे गर्ने योजना तयार गरेको छ ।

त्यस्तै, दुर्लुङखोलादेखि च्याम्राङवेसीसम्म सुरूङमार्ग बनाउने तथा ग्रामिण सडकहरुलाई स्तरोन्नती गर्ने गाउँपालिकाको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *