२०७९ मंसिर १३ काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा अवैधरुपमाा बसेका सुकुम्बासीलाई हटाउन खोज्दा विरोध गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नै प्रश्न गरेका छन्।
मंगलबार जनसांस्कृतिक महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई च्यासलमा सम्बोधनका क्रममा ओलीले सुकुम्बासी हटाउने खोज्ने महानगरको कदमको तीव्र विरोध गरेका थिए।
ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउँदै महानगरको कदमको आलोचना गरेका थिए।
बालेनले ओलीको त्यस टिप्पणीको जवाफ दिँदै अनेक प्रश्न तेर्स्याएका हु्न। पटक पटक प्रधानमन्त्री भइसकेको व्यक्तिबाट सुकुम्बासीबारे आएको धारणालाई बालेनले असामान्य भनेका छन्।
उनले दु्ई पटक प्रधानमन्त्री हुँदा पनि सुकुम्बासी समस्या समाधान गर्न नसकेको भन्दै आलोचना गरेका छन्।
बालेनले नेवा: संस्कृतिसँग जोडिएका गुठी र धाराहरु मासेर धरहराको नाममा सेतो टावर ठड्याएको पनि आरोप लगएका छन्।
‘सम्माननीय पुर्वप्रधानमन्त्री केपी ओलीज्यू, अधिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गर्दै गरेको कार्यप्रति तपाईंको धारणा थाहा पाएँ’, उनले भनेका छन्, ‘तपाईंबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो। किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौंको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन। मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन।’
उनले सुकुम्बासीलाई ओलीले भोट बैंक बनाएको आरोप लगाएका छन्।
‘सुकुम्बासीहरु तपाईंका लागि भोट बैंक मात्रै रहे। बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थविपरीतका कुराहरुमा प्रयोग गर्नु भयो। त्यो पनि राजनीतिक स्वार्थवश्’, उनले अगाडि भनेका छन्, ‘तपाईंलाई जनता, नदीनाला र नेवा: सभ्यताको त्यत्रो माया भएको भए तपाईंको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो?’
उनले ओलीको पालामा हनुमान ढोका पुन:निर्माणको काम पनि विदेशीलाई दिएको भन्दै आलोचना गरेका छन्।
‘हुनमान ढोकाको पुन:र्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनु भयो?’, उनले सोधेका छन्, ‘यी सबै हेर्दा नेवा: सभ्यता जोगाउने, नदीक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईंले विरोध गर्नु असामान्य होइन। तर अब परिस्थिति फेरिएको छ। यसैले सकेको सहयोग गर्नुहोला। तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला।’