कास्की क्षेत्र नम्बर २ मा ठूला दलका नेताहरुलाई चुनौती दिने गरी स्वतन्त्र उम्मेदवारी दर्ता गराएका ऋगेन्द्र गिरी यतिबेला घरदैलो अभियानमा छन् ।
क्रस खुकुरी चुनाव चिन्ह लिएर पहिलोपटक राजनीतिक प्रतिस्पर्धामा उत्रिएका गिरीले यसअघि गाँजा खेती वैधानिक गर्नुपर्ने, नेपालमै उत्पादित वस्तुहरुको प्रयोग गर्नुपर्ने, युवालाई विदेशिनबाट रोक्नुपर्नेलगायत विभिन्न एजेन्डा स्थापित गर्न अभियान चलाइरहेका थिए ।
‘अभियानले जागरण फैलाउने काम गर्छ । यस्ता अभियानमार्फत देश विकासमा लाग्न चाहने मजस्ता धेरै युवाहरुसँग जोडिने सौभाग्य मैले पाएँ,’ गिरीले भने,‘तर, ती एजेन्डालाई सार्थक बनाउनका लागि राजनीतिक तहमै हस्तक्षेप गर्न सक्नुपर्ने रहेछ । त्यसैले यो देशलाई समुन्नत देख्न चाहने मजस्ता धेरै युवाको प्रतिनिधित्व गरेर मैले उम्मेदवारी दिएको हुँ ।’
सामाजिक कार्यहरुमा संलग्न गिरी पछिल्लो समय नेपालमा गाजा खेतीलाई वैधानिकता दिनुपर्ने मागसहित अभियान चलाइरहेका थिए ।
बाँझै रहेका नेपालका डाँडापाखामा गाँजाखेती गरेर त्यसलाई विदेशमा निर्यात गर्ने उनको योजना छ ।
‘विकसित देशहरुमा समेत गाँजा खेतीलाई वैधानिक बनाइएको छ । यो एउटा उद्योग पनि हो । त्यस्तै पर्यटक आकर्षित गर्नसमेत यसले ठूलो भूमिका खेल्छ,’ उनले भने ।
विभिन्न औषधिहरु बनाउन समेत मिल्ने बहुगुणी गाँजालाई चिन्न नसक्नु नेपालीहरुको गल्ति रहेको उनले बताए ।
संसदमा समेत ‘गाँजा वैधानिक विधेयक’ बारे बहस सुरु भइसकेकाले यो मुद्दालाई आफूले प्रभावकारी रुपमा अघि लैजानले उनले बताए ।
‘संसदमा गएर यस मुद्दाको पक्षमा पैरवी गर्ने चाहना छ । सदनबाट गाँजा विधेयक पारित गर्ने लक्ष्य छ,’ उनले भने,‘हामीले डाँडापाखा बाझों राखेर युवालाई खाडीमा निर्यात गर्ने होइन । यहाँका डाँडापाखामा गाँजा रोपेर त्यसलाई विदेशमा निर्यात गर्ने र देशको उत्पादकत्व बढाउने हो । यसो गर्दा युवाहरु विदेश पनि जानुपर्दैन । देश पनि चाडैं समृद्ध हुन्छ ।’
यस्ता छन् घोषणपत्रका मुख्य बुँदा
–महँगो निजी स्वास्थ्य क्षेत्रलाई निरुत्साहित गर्ने लक्ष्यका साथ हरेक वडा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र स्थापना गर्ने लक्ष्य । जहाँ, २४ सै घण्टा डाक्टरको उपस्थित रहने र ठूला शल्यक्रियाबाहेक अन्य सबै सुविधा निशुल्क प्रदान उपलब्ध हुने ।
– कास्की क्षेत्र २ मा ट्रमा सेन्टर स्थापना गर्ने ।
– पढाई सकेका युवालाई विदेशिनबाट रोक्नका लागि निरुत्साहित गर्ने । त्यसका लागि हरेक सरकारी कार्यालयले प्रदान गर्ने सेवाहरुलाई सेवाग्राहीहरुको घर दैलोमा पु¥याउनका लागि वडास्तरमा टास्क फोर्स गठन गर्ने ।
– हरेक वडामा महिला उद्यमशिलता बढाउनका लागि नेपालको मौलिकता झल्काउने वस्तु तथा खाद्य पदार्थको कारखाना स्थापना गर्ने र सो कारखानाबाट उत्पादित वस्तुको संकलन, बजारीकरण र निर्यात गर्दै कास्की क्षेत्र २ लाई शतप्रतिशत महिला स्वरोजगार क्षेत्र बनाउने ।
– स्थानीय विकास निर्माणका काममा हरेक निर्माण व्यवसायीले कुल आवश्यक जनशक्तिको ३५ प्रतिशत स्थानीय निकायका जनशक्ति प्रयोग गर्नुपर्ने, र सो जनशक्ति स्थानीय निकायको इनोभेशन सेन्टरबाट पठाइने ।
– सरकारी बिमा नितिलाई प्रभावकारी बनाउँदै १ लाखबाट बढाएर ५ लाख बनाउनका लागि सम्बन्धित निकायसँग पहल गर्ने ।
– कास्की क्षेत्र २ मा रहेका निजी स्कुलको शिक्षा शुल्क समायोजन गरी समान शुल्क बनाउने ।
– हरेक वडाले आफ्नो क्षेत्रभित्रका प्राविधिक विद्यालय तथा महाविद्यालयसँग समन्वय गर्दै सम्पूर्ण विद्यार्थीलाई रोजगारका लागि इन्टर्नसिपको व्यवस्था गर्ने । त्यसका लागि सबै वडामा इनोभेशन सेन्टर खोल्ने ।
– अनियमित रुपमा बढेको सवारी करलाई वडास्तरमा मतदातासँग सल्लाह गरेर सुलभ रुपमा निर्धारण गर्ने ।
– महिला सुरक्षाको प्रत्याभूति गराउँदै कास्की क्षेत्र नम्बर २ भित्र महिला प्रहरीको उपस्थितीमा २४ घण्टा चल्ने मभहिला मैत्री बस सेवा सञ्चालन गर्ने ।
– ३ वर्षभित्रै सबै सार्वजनिक सवारीलाई विद्युतीकरण गर्ने ।
– रोजगारीको सिलसिलामा विश्वका जुनसुकै कुनामा रहेका नेपालीलाई पनि नेपाली नागरिकताका आधारमा हरेक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउने ।
– संघियताका विषयमा जनमतसंग्रह गर्ने ।
– संसद् विकास कोषको रकम कहाँ र कसरी खर्च गर्ने भन्ने विषयमा कास्की क्षेत्र नम्बर २ का हरेक मतदाता र विज्ञहरुसँग परामर्श गर्ने ।
– कास्की २ भित्रका धार्मिक तथा पर्यटकिय क्षेत्रहरुलाई जोड्ने गरी चक्रपथ बनाउने ।