निजी कम्पनीको खर्चमा विदेशतिर कर्मचारी

NEWS

काठमाडौं । कर्मचारीहरु विभिन्न बहाना बनाउँदै विदेश जाने लर्को चलिरहेका बेला केन्द्रीय आयोजना कार्यान्वायन इकाई भवन तथा आवासका कर्मचारी विदेश शयरमा छन् ।

आफ्नै कार्यालय भित्र परामर्शदाताको काम गरिरहेको एक निजी कम्पनीको खर्चमा कार्यालयका प्रमुखसहितका कर्मचारी कार्यालय नै रित्तो पारेर भारत भ्रमणमा गएका हुन् ।

भ्रमणमा केन्द्रीय आयोजना कार्यान्वायन इकाइ भवन तथा आवासका प्रमुख कोषनाथ अधिकारी, सिनियर डिभिजनल इञ्जिनियर लिला खतिवडा, लेखा प्रमुख रेशम कुमार खत्री, लेखा अधिकृत युवराज गिरी र इञ्जिनियर गोपाल भट्टराई सहभागी छन् ।

सम्पदाको परामर्शदाताको काम गरिरहेको भारतीय कम्पनी इण्डियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले कार्यालयका कोर टिमलाई नै रिझाउन एक हप्ते खानपान र भ्रमणको आयोजना गरेको श्रोतले जनाएको छ । कार्यालयको नेतृत्व गर्ने प्रमुख सहित अन्य पदाधिकारी भारत भ्रमणमा रहेको कार्यालयको प्रशासन शाखाले पुष्टि गरेको छ ।

दिनरात नभनी पुनर्निमाणको काम सम्पन्न गर्नुपर्ने जिम्मेवारी बोकेको कार्यालयका प्रमुखसहितका कर्मचारी भ्रमण तथा मोजमस्तीमा व्यस्त रहनु दुर्भाग्य भएको एक कर्मचारीले बताए ।

२०७२ सालमा शुरुवात भएको उक्त कार्यालय पाँच वर्षभित्र कार्य सम्पन्न गर्ने लक्ष्य सहित स्थापना भएको थियो ।

श्रोत भन्छ- ‘सात वर्षमा पनि पुननिर्माणको कार्य पुरा भएको छैन, दुनियाले देख्ने धरहराको त त्यो स्थिति छ अरुको हालत के होला ?’ उनले प्रति प्रश्न गरे ।

पुननिर्माणको कार्य पुरा हुन नसकेकोमा उनी रुष्ठ देखिए ।

भ्रमणका विषयमा कार्यालयका प्रमख कोषनाथ अधिकारीसँग जानकारी लिन खोज्दा फोन सम्पर्क हुन सकेन ।

सिएलपिआईयू भवन तथा आवासले ८ वटा विभिन्न कार्यालय मार्फत ३२ जिल्लामा भौतिक संरचना पुननिर्माणको कार्य गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *