रामेछाप जिल्लाका विभिन्न योजनाको लागि विनियोजित बजेट कार्यान्वयनका लागि डीपीआर तयार गरिने भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को लागि प्रदेश सरकारबाट बजेट परेका योजनाको लागि डीपीआर थालिने भएको स्थानीय सन्देश घिमिरेले बताए ।
उनका अनुसार लामोसमयदेखी समस्या रहेको सडक, झोलुङेपुल, सिंचाई, खानेपानी, सामुदायीक भवन, गुम्वा लगायतका योजना तत्काल कार्यान्वयन गरिने गरि डीपीआरको तयारी भएको हो । विहीवार बाग्मती प्रदेशका सचिवद्धय अशोक शाह र यमलाल भुषालले योजना कार्यान्वयन हुने ठाउँको अनुगमन गरेका छन् । शाह भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव हुन् । अनुगमन गर्दै सचिवद्धयले आवश्यक प्रक्रिया पुरा गरि तत्काल निर्माण कार्य शुरु गर्ने बताए ।
सचिव शाहले पहिलोपटक रामेछापमा पाइला टेकेको बताउँदै समस्या भएका ठाउँमा योजना राख्न पाएकोप्रति खुशी व्यक्त गरे । समयमै काम सकेर बजेट फ्रिज नगर्न पनि शाहले स्थानीयलाई आग्रह गरेका छन् । ‘म यहाँ पहिलोपटक आउँदा पनि निकै खुशी छु’ उनले भने, ‘मन्थली बजारको नाम सुनेपनि आउने अवसर मिलेको थिएन । सन्देश घिमिरेजीसँग मेरो पुरानो मित्रता ।
उहाँले हाम्रो ठाउँमा निकै समस्या छ, केही योजना सम्बोधन गर्नुपर्यो भन्नुभयो । मैले हुन्छ ल्याउनुन त भने अनि योजना समेटिएको छ । होइन भने, म यहाँ नआएको यहाँको समस्या थाहा नपाएको व्यक्तिले योजना राख्ने कुरै भएन् । जिल्लाका समस्या अनुसार योजनाको माग यहाँका सांसदले नै गर्ने भएकाले सोही अनुसार बजेट राखिन्छ ।’ पेशाले व्यवसायी समेत रहेका घिमिरेकै कारण यत्तिका योजना रामेछापले पाएको भन्दै उनले प्रशंसा गरे ।
घिमिरे रामेछाप नगरपालिका–८ का निवासी हुन् । पेशाले उनी संघिय राजधानी काठमाडौं भए पनि उनले आफ्नै गाउँमा विकास गर्ने उदेश्यले गाउँको आवश्यकता अनुसार योजनामा बजेट पार्न सफल भएका थिए । उनले आफ्नो नगरपालिकामा मात्र नभई जिल्लामा नै बजेट पार्न सफल भएका छन् ।
घिमिरे देशभरका उच्च तहका प्राविधिक कर्मचारीहरुका निकट मानिन्छन् । सो सम्बन्धकै कारण उनले आफ्नो जिल्लामा एक्लो प्रयासमा यतिका धेरै योजना पारेका हुन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट मात्रै रामेछापमा झोलुङ्गेपुल र सडकपुलमा ९ करोड ६६ लाखका विनियोजन भएको छ । त्यस्तै उनको वडा रामेछाप ८ मा ५० लाखको छत्रेपोखरी–फुर्सेमाटा–चनौटे–देवीथान–टुनीवोटे सडक, ५० लाखकै भ्यागुरे–कालीआँप–धारापानी सडक र सामुदायिक भवन पिप्लाटारलाई २० लाख विनियोजन भएको छ ।
यस्तै, निमाधावा बौद्ध गुम्वालाई २० लाख, सुनकोशी देउराली भोटे बगर रामेछाप र सिन्धुली (दुई जिल्ला) जोड्ने झोलुङ्गेपुललाई ६० लाख, रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाको सिम्ले र ओखलढुंगाको चम्पादेवी २ ग्वाङखोला जोड्ने झोलुङ्गेपुल सर्वेक्षणको लागि ५ लाख रुपैयाँ विनियोजन भएको छ । यिनै विभिन्न योजनाको लागि १० करोड भन्दा बढी बजेट रामेछाप भित्रिएको छ ।
बुधबार गएको प्राविधिकसहितको अनुगमन टोलीले विहीवार पनि योजना कार्यान्वयन हुने स्थानको अनुगमन गरेको थियो । ‘बाहिर हेर्दा राम्रो देखिएपनि यर्थाथमा यहाँका जनताको समस्या जहाँकोत्यहि छ’ घिमिरे भन्छन, ‘जनताको दुःखमा मलम लगाउन खोजेको छु । स्थानीयबासीको साथ चाहिन्छ ।’ उनले जनतामा विकासको तीव्र चाहाना रहेको बताउँदै खानेपानीजस्तै रामेछापका प्रमुम समस्याहरुलाई क्रमशः सम्बोधन गर्दै लैजाने पनि प्रतिबद्धता गरेका छन् ।