- विपना ढुंगाना
मैले मेरो बुबाबाट सिकेको पहिलो अङग्रेजी शब्द, “सस्पेन्स”। त्यो शब्दको अर्थ के थियो मलाई थाहा थिएन तर प्रसङ्गै पिच्छे म बुबालाई यो शब्दले गिज्याइरहन्थे । बुबा, मेरो जवाफ खिस्स मुस्कानमा फिर्ता गर्नुहुन्थ्यो ।
बालखपनमा ठट्टा-मजाक बनेको त्यो शब्द आज जिन्दगीको यथार्थ बनेर टुङ्गियो । ति हाँसोले गुन्जिएका भित्ता आज चित्कार बनेर मन सम्म ठोकिन पुगे । अनि बल्ल महसुस भयो बुबा, तपाईले सिकाउन खोज्नु भएको पाठ शब्द हैन जिन्दगी रहेछ । “मैले यो कुरा आत्मसाथ गरेँ, जिन्दगी रहस्यमय रहेछ । कुन समय, मान्छे कस्तो परिस्थितमा गएर अल्झिन्छ यो अकल्पनीय छ ।
म सम्झिन्छु मेरो बुबाको हरेक स्वभावमा अदभुत प्रेरणा लुकेको हुन्थ्यो । उहाँको एकमात्र चाहना भनेको हामीलाइ सदैव अग्रज स्थानमा देख्नु थियो । सानो छदाँ त्यो स्थान “शिक्षा” थियो भने अहिले त्यो स्थान “सहज जिन्दगी” बनेको छ । मलाई अझै पनि याद छ जिल्ला स्तरीय परीक्षामा “जिल्ला शीर्ष” भई दाइ र म पुरस्कृत भएको दिन मेरो बुबाका आखाँ रसाएका थिए । तर ती आँशु दुःखका नभई गर्वका थिए । हाम्रो शिक्षा बुबाको रहर बन्नुको कारण, आफूले पढ्न चाहदाँ-चाहँदै पारीवारिक जिम्मेवारीले बञ्चित एउटा अवसर थियो । आफ्नो इच्छा सल्काएर सन्तानलाई सुखको ताप दिने एउटा जिउँदो उदाहरण हो, मेरो बुबा ।
मेरो बुबाको केवल एउटै मात्र मान्यता थियो । परिस्थित चाहे जस्तो सुकै आओस्, “जित उसैको हुन्छ जो मौन रहन सक्छ ।” किनकी वास्तविक जिवनलाई नियाल्ने हो भने सच्चा तागत चिच्याउनलाई हैन मौन रहनलाई आवश्यक हुन्छ । बुबाको यो मान्यता बिपरीत जाने हिम्मत भने कहिल्यै आएन । उतार-चढाव जिन्दगीमा नआएका होइनन् बस् कसैलाई जवाफ फर्काउन भने मन लाग्दैन । म गलत भएर जवाफ नफर्काएकी होइन कहिले काँही दोष लगाउने मान्छेहरु कतिसम्म गलत सोच्दा रहेछन् भनेर मात्र चुप लाग्ने गर्छु ।
मध्यम वर्गीय परिवार भए पनि बुबाको प्रेम र आमाको संस्कारले स्वाभिमान गुम्न भने कहिलै दिएन । गोजीमा पैसा नभए कसैसँग घुलमिल हुन नजानु भनेर बुबाले बताउनु भएको कुरा सत्य रहेछ । अर्काको आम्दानीले आफ्नो रहर कहिल्यै पूरा हुन सक्दैन । भोको पेटमा स्वाभिमान भेटिन्छ भने भोकै सही तर हात थापेर कहिल्यै खान नपरोस् भन्ने मेरा बुबाका बचनलाई हरपल आत्मसाथ गर्न सकुँ l