तनहुँ । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न. १ तनहुँको कोषाध्यक्षमा व्यास-२ निवासी पबिन्द्र भट्टराई र प्रवक्तामा व्यास-८ रिस्ती निवासी हरिप्रसाद शर्मा मिश्र मनोनित हुनुभएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र न. १ तनहुँको पहिलो बैठकले कोषाध्यक्षमा भट्टराई र प्रवक्तामा मिश्रलाई मनोनित गरेको हो ।
कांग्रेसको विधान बमोजिम कोषाध्यक्ष र प्रवक्ता मनोनित हुनको लागि निर्वाचित क्षेत्रीय कार्यसमिति सदस्य हुनुपर्दछ ।
बैठकका निर्णय
बैठकले क्षेत्र न. १ भित्र रहेका प्रत्येक नगरपालिका र गाउँपालिकाभित्र रहेका नेपाली कांग्रेसका नगर कार्य समिति, गाउँपालिका कार्य समिति र वडा कार्यसमितिलाई सक्रिय बनाउँदै छुटेका मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सहयोग गर्ने निर्णय गरेको छ ।
सभापति श्याम कुमार मौरतीको सभापतित्वमा बसेको बैठकले क्षेत्र न. १ अन्तर्गत रहेका ४२ वटै वडामा टोलकार्य समिति छिटो सम्पन्न गर्नको लागि नगर एवं गाउँपालिका सभापति र वडा सभापतिहरुलाई परिपत्र गर्ने निर्णय समेत गरेको छ ।
बैठकले १४औं महाधिवेशनमा वडा, नगरपालिका , गाउँपालिका, प्रदेशसभा क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा आफ्नो मत प्रदान गर्नुहुने सम्पुर्ण प्रतिनिधि साथै निर्वाचन सम्पन्न गर्नको लागि सहयोग गर्ने सम्पूर्ण निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गरेको छ ।
गत शुक्रबार साँझ बन्दिपुर गाउँपालिका-६ हुस्लाङमा भएको जिप दुर्घटनामा परि नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरि बहादुर न्यौपाने र उहाँकी धर्मपत्नी शुशिला न्यौपाने लगायत ६ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त समेत गरेको छ ।
बैठकले जिप दुर्घटनाका घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासहित दिवंगत आत्माको चीरशान्तिको कामना गर्ने निर्णय गरेको क्षेत्रीय सहसचिव शैलेश खातीले जानकारी दिनुभयो ।