ज्ञानेन्द्र र हिमानीको छ कि छैन फेसबुक-ट्विटर अकाउन्ट ?

NEWS

काठमाडौं, २३ मंसिर २०७८ । पूर्व राजा ज्ञानेन्द्र शाहको फेसबुक, ट्विटर अकाउन्ट छ कि छैन ? यो आम चासोको प्रश्न हो ।

ज्ञानेन्द्र शाह र पूर्व युवराज्ञी हिमानी शाहको नाम सर्च गरेर हेर्दा धेरै अकाउन्ट देखिन्छन् । तीमध्ये ज्ञानेन्द्र र हिमानीको वास्तविक अकाउन्ट कुन होला ? यो जिज्ञासाको जवाफ पूर्व राजाको सम्वाद सचिवालयले दिएको छ ।

ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ ।

पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय समसामयिक घटनाका सन्दर्भ राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि उनले कुनै पनि खालका सामाजिक सञ्जाल नचलाउने गरेको सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘मौसुफबाट ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिबक्सेको बेहोरा जानकारी गराइन्छ । यस्तो निराधार कपोलकल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुर्‍याउन समेत अनुरोध गरिन्छ ।’

त्यस्तै पूर्व युवराज्ञी हिमानी शाहले पनि सामाजिक सञ्जाल नचलाउने सूचनामा बताइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पूर्वराजाले हस्तक्षेप गरेको कमल थापा पक्षले आरोप लगाएको थियो भने पूर्वराजा र हिमानी शाहको नामबाट जारी भएका स्ट्याटसहरुमा थापाले अध्यक्ष पदमा हारेको विषयलाई ‘सुखद’ भनी टिप्पणी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *