२०७ जना पाकेटमार पक्राउ, यस्तो हुन्छ पाकेटमारको सांकेतिक भाषा

NEWS

काठमाडौं, १८ असोज २०७८ । सवारी साधन र बजारमा पाकेटमारी र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले काठमाडौंबाट विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

काठमाडौं उपत्यकामा सञ्चालित बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पक्राउ परेका २०७ जनामध्ये १६१ जनामाथि अनुसन्धान भइरहेको र ४६ जना अनुसन्धान पूरा भई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले कारागार चलान गरेको परिसरका प्रमुख एसएसपी अशोक सिहंले बताए ।

उनीहरले सार्वजनिक बसभित्र समूह बनाइ छिर्ने र पैसा भएको यात्रु पत्ता लगाएर पछाडिबाट घेराबन्दी पारी मोबाइल, नगद र सुनचाँदी पाकेटमारी गरेर पालोपालो गरी ओर्लने गरेको प्रहरीको भनाइ छ ।

पाकेट मार्दा उनीहरुले सांकेतिक भाषा प्रयोग गर्ने गरेको एसएसपी सिंहले बताए ।

दशैं, तिहार र छठमा किनमेल गर्दा र यात्रा गर्दा धेरै पाकेटमारी हुने गरेको गुनासो आएपछि प्रहरीले पाकेटमारविरुद्ध अपरेशन चलाएको थियो ।

सार्वजनिक बस, माइक्रोबस र सार्वजनिक स्थलहरुमा सादा पोशाकका प्रहरी खटाएर प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

सार्वजनिक बसहरूमा दुई–दुई जनाको दरले ६ जनाको समूह बनाएर छिर्ने पाकेटमारहरुले यात्रुलाई ठेलेर घेराबन्दीमा पारेर गोजीबाट पैसा निकाल्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

यस्तो हुन्छ पाकेटमारको भाषा

पाकेटमारले सांकेतिक भाषाको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । यस्तो छ पाकेटमारले प्रयोग गर्ने भाषा :

पैसा : द
मोवाइल : कान
पाकेटमारी सकेको मान्छे : रामे
पाकेटमारका मास्टर : काशी
पैसा धेरै छ : टानको द
पैसा थोरै छ : जुटको द
गाडी : काँचा
केटा : छापा
केटी : भद्री
पुलिस आयो : ठुल्दाई आयो
ड्राइभर : माम
खलासी : मले
गाडीबाट झरेर भाग : टप्की
गाडीभित्र अगाडि सर : अकल जा
गाडीभित्र पछाडि सर : चिछल जा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *