पारस शाह र प्रहरीबीच सडकमै लफडा (भिडियो)

SOCIETY
Spread the love

काठमाडौं । पूर्व युवराज पारस शाह र प्रहरीबीच विवाद भएको छ । हेल्मेट नलगाइ मोटरसाइकल चलाइरहेका पूर्व युवराज पारस शाह र प्रहरीबीच राजधानीको महाराजगञ्ज चोकमा विवाद भएको हो ।

शुक्रबार साँझ बिनाहेल्मेट मोटरसाइकल चलाइरहेका उनलाई महाराजगञ्ज चोकमा ड्युटीमा खटिएका प्रहरीले रोकेपछि विवाद सुरु भएको थियो ।

हेल्मेट नलगाएकोबारेमा प्रहरीले सोधखोज गर्दै रोकेपछि झ्वाँक्किएका पारसले प्रहरीलाई हप्की दप्की गरेका थिए । बाइक रोकेपछि आक्रोशित भएका पारसलाई प्रहरीले हातमा समातेर रोकेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले ट्राफिक नियम विपरीत सवारी चलाइरहेको अवस्थामा ड्युटीमा तैनाथ कर्मचारीले रोकेर सोधखोज गरेको बताए ।

हेल्मेट नलगाइ मोटरसाइकल चलाएकोबारे त्यहाँ जम्मा भएका अन्यले पारसकै गल्ती देखाइहेका थिए । पारस भने प्रहरीसँग झगडा गर्न तम्सिएका थिए । पारसले प्रहरीलाई हप्काइरहेको भिडियो सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबुकमा शेयर गरेका छन् ।

भिडियोमा पारसको हात समातिरहेका एकजना प्रहरीले माथिल्लो निकायमा सञ्चार सेटबाट रिपोर्टिङ गर्दा रक्सी पिएर आएका उनले बिनाहेल्मेट मोटरसाइकल चलाइरहेको बताउँदै गरेको सुन्न सकिन्छ ।

ट्राफिक नियम उलंघन गरेकाले प्रहरीले पारसलाई प्रहरी कार्यालय जानुपर्ने बताइरहेका थिए । तर पारसले उनको पुरानै उग्र शैलीमा, ‘जान्न, म जाँदै जान्न, तैँले के गर्छस् ? तँ को होस्’ भन्दै हप्कीदप्की गरिरहेको सुन्न सकिन्छ ।

प्रहरीले पारसलाई समातेर प्रहरी कार्यालयतिर लान खोज्दा खोज्दै उनका समर्थक आएर नाराबाजी पनि गरेका थिए । उनीहरुले पारस सरकार भन्दै नाराबाजी गरेपछि केहीबेर तनाव भएको थियो ।

तर केही बेरमा पारसका लागि हेल्मेट ल्याएपछि पारसलाई त्यहीँबाट छाडिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सिंहले जानकारी दिए ।

तर पारस हेल्मेट नलगाई बाइकमा बसे । बाइक स्टार्ट गरेर गन्तव्यतर्फ लागे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *