काठमाडौं , ३ असार २०७८ । सरकारले चीनको सिनोफर्म कम्पनीसँग ४० लाख डोज कोरोना खोप खरिद गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना खोप खरिद प्रक्रिया अघि बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिएको एक मन्त्रीले जानकारी दिए ।
नेपालले खोप खरिदका लागि प्रस्ताव गर्दा चिनियाँ कम्पनीले मुल्य लगायतका विषय सार्वजनिक नगर्ने गरी ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्नुपर्ने बताएको थियो ।
त्यही कारण स्वास्थ्य सेवा विभागले खरिद प्रक्रिया अघि बढाउन सकेन ।
तर अरु कम्पनीसँग खरिद प्रक्रिया अघि नबढेपछि चिनियाँ प्रस्तावअनुसार नै सरकार ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न सहमत भएको छ ।
एक मन्त्रीका अनुसार, ‘सोमबार क्याबिनेटमा छलफल भएको थियो, बुधबार बसेको Covid-19 निर्देशक समितिमा पनि हामीले सोधेका थियौं, प्रधानमन्त्रीले ४० लाख खरिद गर्ने र पहिलो लट जुन महिनाभित्र आउने जानकारी दिनुभएको छ ।’
यद्यपि नेपालको विद्यामान कानूनले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ गर्न अनुमति दिँदैन ।
कसरी सम्बोधन गर्ने सरकारले केही बताएको छ ।
अर्का एक मन्त्रीले मन्त्रिपरिषदको निर्णयबारे सरकारका प्रवक्ताले औपचारिक जानकारी दिने बताए ।
बुधबार बसेको Covid-19 निर्देशक समितिमा प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणका लागि खोप अनिवार्य भएको भन्दै ४० लाख डोज ल्याउन गृहकार्य भइरहेको बताउनुभयो ।
अरु देशसँग पनि खोप खरिदका लागि प्रयास भइरहेको भन्दै उहाँले आगामी साउनबाट नागरिकहरुलाई लगाउन थालिने जानकारी दिनुभयो ।
जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप खरिद !
यसैबीच, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको बताउनुभएको छ ।
‘जोनसन एण्ड जोनसनको ५० लाख बिश्वबैंकमार्फत् किन्दैछौं, उहाँहरुले नै किनेर हामीलाई दिने भनेका छौं’ उहाँले भन्नुभयो, ‘चीनबाट पनि ४० लाख डोज ल्याउँदै छौं ।’
परराष्ट्रमन्त्री महासेठका अनुसार खोप उत्पादकहरुले ९० दिनभित्र खोप उपलब्ध गराउन सक्ने बताइरहेका छन् ।
तर, नेपाल सरकारले सकेसम्म ४५ दिनभित्र नभए ६० दिनभित्र खोप उपलब्ध गराउन उत्पादकहरुलाई आग्रह गरेको उहाँले जानकारी दिनुभयो ।
जनताले कहिलेसम्म लगाउन पाउँछन् खोप ?
कहिलेसम्म नेपाली जनताले खोप लगाउन पाउँछन् ? भन्ने प्रश्नमा महासेठको जवाफ छ, ‘उपलब्ध भयो भने दशैंभन्दा पहिले, (नभए) जुनसुकै मूल्यमा पनि मंसिरसम्म सबैलाई दिनुपर्छ ।’
मंसिरसम्ममा साढे दुई करोड डोज खोप बितरण गर्नेगरी सरकारले गृहकार्य गरिरहेको महासेठको दाबी छ ।