काठमाडौं, जेठ २६ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले महिला बालबालिका विभागका कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
आज (बुधबार) मन्त्रालय अन्तर्गत महिला बालबालिका विभागका कर्मचारीहरुको बिस्तृत ब्रिफिङपश्चात उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
सो अवसरमा मन्त्री चौधरीले विभागबाट प्रदान गरिदै आएको सेवामा कुनै पनि ढिलासुस्ती नगरी कार्य सम्पादन गर्न निर्देशन समेत दिनुभयो ।
उहाँले विभाग अन्तर्गत बेरुजुको बिकराल समस्या देखिएको भन्दै तत्काल समाधानका लागि पहल गर्ने र त्यसमा सबैको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
महिला तथा बालबालिकाको समस्या समाधान गर्न केन्द्रबाट पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहसम्म काम गर्ने संयन्त्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
घरेलु र यौन हिंसाबाट महिलाहरु निकै पीडित हुने गरेको र सबै घटना सार्वजनिक हुन नसकेको बताउँदै त्यसका लागि विभागले समाजका तल्लो वर्गका महिला र बालबालिकाको लागि परिणाम आउने गरि काम गर्नुपर्नेमा उहाँदे जोड दिनुभयो ।
पुल्चोकस्थित विभागको कार्यालयमा विभागका निर्देशक दुर्गा देबि देबकोटा पौडेलले विभागको गतिविधिका बारेमा मन्त्री चौधरीलाई जानकारी गराउनु भएको हो ।
निर्देशक पौडेलले विभागको औचित्य, चुनौति, अवसर र विगत देखि हुँदै आएका कार्यप्रगतिका बारेमा रुपमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै, राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले परिषदको बारेमा ब्रिफिङ गर्नुभयो ।
परिषदको अध्यक्ष महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीज्यु रहने व्यवस्था छ ।
यसैबीच, मन्त्री चौधरीले परिषदको अध्यक्षमा पद्स्थापन गर्दै प्रदेश १, प्रदेश २ र लुम्बिनी प्रदेशमा बालबालिका खोज केन्द्र १०४ बिस्तार गर्ने निर्णयलाई सदर गर्नुभएको छ ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्य मन्त्री रेनुका गुरुङ र मन्त्रालयकी सचिव यमकुमारी खतिवडाको समेत सहभागिता थियो ।
कार्यक्रम विभागका महानिर्देशक कृष्ण प्रसाद पराजुलीको अध्यक्षता भएको थियो ।