सेभ अ चाइल्ड्स् फ्युचरको परियोजनाः आर्ट एण्ड क्राफ्टको एक महिने अध्ययपन कार्यक्रम सम्पन्न

SOCIETY
0 Shares

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बानेश्वर बहुमुखी क्याम्पसमा सेभ अ चाइल्ड्स् फ्युचरद्वारा सञ्चालित एक महिने आर्ट एण्ड क्राफ्टको अध्ययपन कार्यक्रम सम्पन्न भएको छ ।

गत कार्तिक १५ गतेबाट सेभ अ चाइल्ड्स् फ्युचर नामक परियोजनाद्वारा आयोजित उक्त कार्यक्रममा तिनकुने वरपरकै सुकुम्बासी बस्तीका २५ जना विद्यार्थीहरु सहभागी थिए ।

उक्त परियोजनाकी संयोजक सञ्जु ढकालका अनुसार कोरोना भाइस (कोभिड-१९) लाई मध्य नजर गर्दै विभिन्न सुरक्षाका साधनहरु प्रयोग गरेर कक्षा सञ्चालन गरिएको हो ।

‘हामीले लकडाउनका बेला खालि बसेका सुकुम्बासी बस्तीका बालबालिकाहरुका लागि उपयोग होस् भन्ने हिसाबले यो परियोजना ल्याएका हौं ।’ ढकालले भनिन्, ‘उक्त परियोजनाको सहयोगमा बालबालिकाहरु धेरै सामग्री बनाउन दक्ष भएका छन् भने नयाँ कुराहरु सिक्न पाउँदा दंग देखिन्छन् ।’

कार्यक्रममा सहभागी विद्यार्थी कौशिला तोलाङ्गेले आफूले पहिलो पटक यसरी पेपरबाट विभिन्न कुरा बनाउन सिकेको बताइन् । काम नलाग्ने भनेर फालिएको चुरोटको बट्टाबाट फोटो फ्रेम र प्लास्टिकको झोलबाट फूल बन्छ भनेर कल्पना समेत नगरेको बताउँदै उनले भनिन्, ‘यहाँबाट सिकेपछि मैले अहिले घरमा प्लास्टिक झोल जम्मा गरेर राख्ने गरेकी छु, फूल बनाउनका लागि ।’

उक्त कार्यक्रमका ट्रेनर गौतम श्रेष्ठ थिए । उनले विद्यार्थीहरुलाई दैनिक जीवनमा उपयोग हुने खालका पेपर फ्लावर, स्टेस्नरी ब्याग, ओरीगामी फ्लावरस्, काटुनको घर, न्युजपेपर फ्रेम, न्युजपेपर बल र पेपरका अन्य खेलौना लगायतका सामग्री बनाउन सहयोग गरेको परियोजनाका समूह सदस्य सुरक्षा पोखरेलले जानकारी दिइन् ।

८ जना युवाको समूह मिलेर यो परियोजना निर्माण गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *