- बिपना ढुंगाना
बिदाई
मेरो हाँसोले गुन्जिने त्यो आगनमा
यदि मेरा बिदाईका आँसुले
कोलाहल मच्चिन्छ भने
म नरोई जान्छु बाबा ।
घरबाट बिदाईका मेरा पाइला
अगाडि बढ्दै गर्दा
तिम्रो म प्रतिको माया कहिल्यै
घट्दैन भन्छौ भने
म नरोई जान्छु आमा ।
मलाई सधैं बालखै देख्ने
ती आँखाले,
भोलिको मेरो सङ्घर्ष देख्दा
तिम्रो मन थामिन्छ भने
म नरोई जान्छु काका ।
एक दिन फोनमा कुरा नहुँदा
‘बिर्सिस् त नानी’ भन्दै
गाली गर्ने तिमी
अब कयौं महिनासम्म भेट नहुँदा
यदि आफुलाइ सम्हाल्न सक्छौ भने
म नरोई जान्छु काकी ।
हरेक साँझ
‘सुन् त
थोरै खाना बनाइदिराख् है ?
म घर आउन पनि सक्छु,
नआउन पनि’ भन्दै
हाँसेर फोन काट्ने, तँ
मेरो अभावमा पनि
‘कुनै रात भोकै सुत्ने छैन’ भनी
मसँग प्रण गर्छस् भने
म नरोई जान्छु दाई ।