गीताको हत्या आरोपमा पक्राउ परेका भतिजा भन्छन्, …त्यसपछि घृणा जाग्यो अनि सिध्याएँ

समाज
49 Shares

ललितपुर, १३ असोज । ललितपुरको चुनीखेलकी गीता केसीको हत्या अभियोगमा पक्राउ परेका (गीताकै भतिजा) निर्मल केसीविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सोमबार निर्मललाई जन्मकैदको सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको हो ।

उक्त मुद्दामा मंगलबारबाट अदालतमा बयान र पुर्पक्षको बहस चल्ने छ ।

पक्राउपछि गरिएको बयानका क्रममा उनले गीताको हत्या आफूले गरेको स्वीकार गरिसकेका छन् । निर्मल र गीताबीच चार वर्षदेखि शारीरिक सम्बन्ध समेत रहेको पाइएको छ ।

घटना भएकै दिन पनि आफूहरुबीच शारीरिक सम्बन्ध भएको निर्मलले बताएका छन् ।

यस्तो छ निर्मलको बयानः

– घटनास्थलमा छरिएको अवस्थामा फेला परेको नागरिकतासहितको ब्याग, जुत्ता, परिचय पत्र, पहेँलो कपडाको सल मृतक गीता केसीको हो ।

– घटनास्थल नजिकबाट बरामद गरेको नोकिया कम्पनीको अगाडीको सिसा फुटेको मोवाईल मैले नै प्रहरीलाई देखाइदिएको हो ।

– घटनाको समयमा मैले प्रयोग गरेको मेरो बा९३प ४६२३ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

– काकी (गीता) ले विगत दुई वर्षदेखि अल्का अस्पतालमा हाउस किपिङ्गको काम गर्न थाल्नु भएको थियो । मैले आफ्नो मोटरसाईकलमा राखेर काकीलाई काममा पुर्याउने र घरमा ल्याउने गर्दै आइरहेको थिएँ ।

– सोही क्रममा २०७७ भदौ १७ गतेका दिन बिहानै मैले काकीलाई फोन गरेर घुम्न जाऔं भन्दा काकीले सहमति जनाउनु भयो ।

– दिउँसो अन्दाजी सवा एक बजेतिर काकीलाई मोटरसाइकलमा राखेर भैंसेपाटीबाट हिड्यौँ ।

– एकान्तकुनास्थित पेट्रोलपम्पमा पुगेर मोटरसाइकलमा पेट्रोल राखेपछि मैले काकीलाई आज लेलेतिर घुम्न जाऔं है भन्दा काकीले हुन्छ भन्नुभयो ।

– त्यसपछि लेलेतिर घुमफिर गरी साँझ घर फर्कंदै थियौं । चापागाउँतर्फ आउने क्रममा लेले भञ्ज्याङ्गमा पुगेपछि काकीसँग शारीरिक सम्पर्क राख्ने सोच बनाएँ ।

– मोटरसाइकल भञ्ज्याङ्गबाट मोडेर जंगलको बीच भागको बाटोमा पुर्‍याएपछि सहमतिमा शारीरिक सम्पर्क गरेँ ।

– शारीरिक सम्पर्क राखेपछि कुराकानी हुँदा काकीले भन्नुभयो, ‘मलाई आज घर जान मन लागेको छैन।’

– मैले किन भनि सोध्दा काकीले भन्नुभयो, ‘मैले घर, बालबच्चा र तपाईंलाई छोड्न सक्दिनँ र मलाई माया गर्ने अरु मानिसहरूलाई पनि छोड्न सक्दिनँ, मर्‍यो भने आनन्द हुन्छ जस्तो लागेर आत्महत्या गर्न मन लाग्छ।’

– काकीको त्यस्तो कुरा सुनेर म छाँगाबाट खसेजस्तै भएँ । मैले काकीलाई आफ्नो श्रीमतीलाई भन्दा बढी माया गर्थेँ, समय दिन्थेँ, हरेक ईच्छा आकांक्षा पुर्याउने गरेको थिएँ ।

– र, पनि अरु मानिसहरूसँग सल्किएको कुरा सुनेर काकीप्रति घृणा जाग्यो । आवेगमा यसलाई यही एकान्त जंगलमा सिध्याएर फाल्छु भन्ने सोच आयो ।

– र, मैले उभिएर बसेकी काकीको गलामा बेरिएको सललाई पछाडीबाट दुवै हातले समाती काकीको घाँटीमा कहिबेर जोडले कसेपछि काकीको प्राण गयो ।

– त्यसपछि लाश कसैले देख्छ कि भन्ने डरले बाटो छेउको भीरबाट धकेलेर जंगलको झाडीतर्फ पल्टाएँ । जंगलको भिरालो ठाउँबाट बेगले गुल्टिँदै लाश तल बाटोबाट नदेखिने ठाउँमा पुग्यो ।

– मोटरसाईकलको ह्याडलमा झुण्ड्याएको काकीको खैरो रंगको लेडिज व्यागमा रहेको काकीको मोवाइल झिकेर व्याग जंगलको झाडीमा फालें । मोवाईल आफ्नो गोजीमा राखेर हतार हतार मोटरसाईकल चलाएर बाटो लागें ।

– केही अगाडि आइपुग्दा काकीको मोवाइलमा फोन आयो । तर मैले फोन उठाइनँ । मोवाइलको कारण फसिने डरले मैले गोजीमा राखेको मोवाईल समेत त्यही जंगलतर्फ फ्याँकें ।

– त्यसपछि सरासर आफ्नो घरमा आएर बसें ।

– त्यही दिन बेलुकासम्म पनि काकी घरमा नआएको भनि काकीको सानी छोरीले मलाई फोन गरेपछि काका शिवशरण केसीले मलाई शंका गरे कि भनेर काकालाई भेट्न गएँ ।

– काकालाई भनेँ, ‘दिउँसो काकीलाई अल्का अस्पताल नजिक पुर्‍याएर फर्केको थिएँ, यतिखेरसम्म त आईपुग्नु पर्ने ।’

– फोन गरेर बुझ्छु भनेर अल्का अस्पतालमा काम गर्ने काकीका साथीहरूलाई समेत फोन गरी सोधी खोजी गरेँ ।

– प्रहरीले खोजतलासको क्रममा काकी (गीता केसी) हराएको र १७ गते दिउँसो काकीलाई मैले मोटरसाईकलमा लिएर हिंडेको कुरा थाहा पाएछ ।

– प्रहरीले मलाई भैंसेपाटी चोकबाट लिएर गएपछि मलाई अब फसियो भन्ने लाग्यो ।

– प्रहरीले सोधपुछ गर्दा मैले काकीलाई मारेको हुँ भनि वास्तविक कुरा बताएँ ।

अल्का अस्पतालमा कार्यरत ३९ वर्षीय गीताको शव भदौ १९ गते शुक्रबार साँझ ललितपुरको लेलेस्थित जंगलमा फेला परेको थियो । गीताका दुई छोरी र श्रीमान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *