पोखरा, २६ भदौ । कोरोना भाइरस (कोभिड-१९) बारे सामाजिक सञ्जालमा भ्रम फैलाएको अभियोगमा दुई जना पक्राउ परेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पिसिआर रिपोर्ट पोस्ट गरी गलत सन्देश फैलाएको अभियोगमा पोखराबाट दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वत स्थायी घर भएका २९ बर्षीय इश्वर रिमाल र चितवन घर भएका २२ बर्षीय निरज लम्साल रहेका छन् ।
कास्की प्रहरीका अनुसार, उनीहरुले आफ्नो पिसिआर परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकीबाट गराएको र कोरोना रिपोर्ट उलटपुलट गरी फेसबुकमार्फत झुटो भ्रम (अफवाह) फैलाएका थिए ।
पोखराको नयाँबजार बस्दै आएका उनीहरु दुबै जना मोबाइल पसल सञ्चालक हुन् ।
रिमाललाई भदौं २४ गते र लम्साललाई भदौ २५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिए ।
उनीहरुविरुद्ध झुटो हल्ला (अफवाह) फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिन म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।