काठमाडौं, २३ भदौ । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गर्ने वा हटाउने ? भन्ने विषयमा उपत्यका प्रशासनले छलफल गरेको छ ।
यस विषयमा छलफल गर्न मंगलबार दिउँसो काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले भर्चुअल संवाद समेत गरे ।
निषेधाज्ञाबारे नयाँ निर्णय भने भोलि (बुधबार) मात्र हुने छ ।
तर, उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा आइ नसकेकाले पूर्ण रुपमा खुला गर्न नहुनेमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एकमत छन् ।
हालकै अवस्थालाई निरन्तरता दिँदा जनस्तरबाट व्यापक विरोध आउने उनीहरुको भनाइ छ । गृह मन्त्रालयले पनि निषेधाज्ञालाई थप खुकुलो बनाउने गरी खाका प्रस्तुत गर्न भनेको छ ।
गृह मन्त्रालयसँग थप छलफल गरेर उपत्यकाको निषेधाज्ञाबारे औपचारिक निर्णय हुने छ । उपत्यकामा कोरोना संक्रमण बढेपछि उपत्यकामा भदौ ४ गतेदेखि निषेधाज्ञा जारी छ । तेस्रो पटक थपिएको निषेधाज्ञाको समय बुधबार मध्यराति सकिँदैछ ।
के हुनसक्छ मोडालिटी ?
एक साता निषेधाज्ञा थपेर रोजगारीका क्षेत्रलाई खुला गर्ने निर्णय हुनसक्छ ।
सवारी साधन सञ्चालनमा जोर-विजोर प्रणाली लागू हुनसक्छ ।
उद्योग, कलकारखाना र पसलहरु स्वास्थ्य मापदण्ड पालना गरेर खुला हुनसक्छन् ।
दसैंसम्म निषेधाज्ञा ?
यसअघि लतिलपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले निषेधाज्ञालाई सहजीकरण गर्दै दसैंसम्म लम्ब्याउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
संसदीय समितिमा उनले राखेको धारणामा अन्य प्रशासक भने सहमत छैनन् । बरु दसैंसम्म जोर–विजोर प्रणाली भने लागू गर्न सकिने उनीहरुको भनाइ छ ।
नगरपालिका फोरम के भन्छ ?
काठमाडौं उपत्यका नगरपालिका फोरमले भने जारी निषेधाज्ञा खुकुलो पार्दै यातायात सञ्चालनमा जोरबिजोर प्रणाली लागू गर्न माग गरेको छ ।
फोरमले सार्वजनिक यातायात बाहेकका सवारी सञ्चालनमा जोरबिजोर लागू गर्न स्थानीय प्रशासनलाई सुझाव दिएको हो ।
निषेधाज्ञा खुकुलो बनाउने तर, सुरक्षा सतर्कता र स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयनमा भने कडाइ गर्ने ।
काठमाडौं भित्रिने र बाहिरिने नाकाको आवागमनमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने (थप कडाई गगर्ने) ।