काठमाडौं, २० भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौंमा मात्रै ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार:
हाल देशभर १७ हजार ८७० सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेसनमा १७ हजार ८७० जना छन् । होम आइसोलेसनमा आठ हजार चार जना छन् ।
आज जम्मा १२ हजार ४७३ पिसिआर परीक्षण गरिएको छ । योसँगै हालसम्म सात लाख ५७ हजार ९६३ पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ५६६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या २७ हजार १२७ पुगेको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा नेपालमा एक हजार १४१ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ ।
देशभरका आइसियूमा १६८ संक्रमितको उपचार भइरहको छ । प्रदेश १ मा तीन जना, प्रदेश २ मा २८ जना, बागमतीमा १०८ जना, गण्डकीमा पाँच जना प्रदेश ५ मा २० जना र कर्णालीमा तीन जना आइसियूमा छन् ।
त्यसैगरी देशभर २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । प्रदेश १ मा एक जना, बगमतीमा २० जना र प्रदेश ५ मा तीन जनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको छ ।
५०० भन्दा बढी संक्रमित हुने जिल्लाहरुमा मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही रहेका छन् ।
हाल ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा र हुम्लामा एक जना पनि संक्रमित छैनन् ।
मृत्यु
पछिल्लो २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ३ जना संक्रमित महिला र ६ जना संक्रमित पुरुषको मृत्यु भएको हो ।
काठमाडौंका ४१, ५९, ६५ वर्षीय पुरुष गरी ३ जना पुरुषको मृत्यु भएको छ ।
त्यसैगरी रुपन्देहीका ४० वर्षीय, पर्साका ७५ वर्षीय र महोत्तरीका ७८ वर्षीय पुरुाष् गरी जम्मा ६ पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवरपरासीकी ३७ वर्षीया महिला गरी ३ महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।