काठमाडौं, २५ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९२ जना रहेका छन् । काठमाडौंका मात्रै ९० जना र ललितपुरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२ जना पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार, हाल नेपालमा ६ हजार ५४४ जना सक्रिय संक्रमित छन् ।
यसैबीच, पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त (डिस्चार्ज) हुनेको संख्या १६ हजार ३५३ पुगेको छ ।
मन्त्रालयका अनुसार देशभर हालसम्म चार लाख ४३ हजार ८०४ पीसीआर परीक्षण भएको छ ।
हाल ११ हजार ३८जना क्वारेन्टाइनमा छन् । त्यस्तै ६ हजार ५४४ जना आइसोलेसनमा छन् ।