यस्तो रहेछ भाइरल तस्बिरको वास्तविकता (भिडियो)

समाज
76 Shares

काठमाडौं । सामाजिक सञ्जालमा केही समयदेखि एउटा तस्विर भाइरल भइरहेको छ । सरकारी नम्बर प्लेटको पल्सर बाइकमा एक पुरुष र महिलाले यात्रा गरेको तस्विर निकै भाइरल भइरहेको हो ।

सरकारी नम्बर प्लेट अंकित बाइकको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर तस्विर भाइरल भइरहेको हो । तस्बिरलाई लिएर विभिन्न खाले टिका टिप्पणी आइरहेका छन् ।

तस्बिरलाई लिएर मानिसमा विभिन्न चासो तथा उत्सुकता छाएको छ । वास्तविक तस्बिर नभएर फोटोसप गरिएको हो कि ?, नजिकका नातेदार पो हुन् कि ? विशेष परिस्थितिमा हिँडेका पो थिए कि ?, चालकले अञ्जान युवतीलाई लिफ्ट दिएका हुन् कि ?, सरकारी सवारी साधनमा महिलाको पोशाकलाई लिएर यस्तै खालका परचर्चा भइरहेका छन् ।

वास्तविकता यस्तो छ

– प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको उक्त बाइक धादिङस्थित गल्छी गाउँपालिकाको हो ।

– बाइकमा रहेका पुरुष र महिला सोही गाउँपालिकामा कार्यरत इञ्जिनियर र सव-इन्जिनियर हुन् । केही महिनाअघि मात्रै उनीरुले जागिर सुरु गरेका हुन् ।

– उनीहरु प्रशासनिक कामले काठमाडौं आएको समयमा बाइकमा सँगै हिँडेका थिए ।

– उनीहरु सिट रोल (सरकारी कर्मचारीलाई दिइने संकेत नम्बर) को कामले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर गत बिहीबार काठमाडौं आएका थिए ।

– बबरमहलस्थित निजामति किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट उनीहरुको तस्बिर खिचेको थियो । तस्बिर कसले खिचेको हो भन्ने खुलेको छैन ।

– तर, सुरुमा (सामाजिक सञ्जाल) मा पूर्वसचिव भीम उपाध्यायले तस्बिर शेयर गरेका थिए । ‘सरकारी मोटरसाइकलको दृश्य’ भन्दै उनले शेयर गरेको तस्बिर केहीबेरमै फेसबुकभरि भाइरल भयो ।

– पूर्वसचिव उपाध्यायले आफूलाई एकजना साथीले इनबक्समा उक्त तस्बिर पठाएको बताए । सरकारी बाइकमा त्यस्तो लुगा लगाएर हिँडेको देख्दा अलि अनौठो लागेर पोष्ट गरेको उनले बताए ।

– शेयर गरेको केहीबेरमा उपाध्यायलाई सम्वन्धित व्यक्तिले फोन गरेर तस्बिर हटाउन आग्रह गरेपछि उनले आफ्नो अकाउन्टबाट तस्बिर हटाए । तर, धेरैले तस्बिर स्क्रिनसट र सेभ गर्न भ्याइसकेका थिए ।

तस्वीर भाइरल भएपछि महिला कर्मचारी तनाबमा छिन् ।

युवती भन्छिन्

– फोटो कसले र कहाँ खिचेको हो भन्ने थाहा भएन ।

– म कार्यालयबाट बिदा लिएर काठमाडौंमा थिएँ । मेरा सहकर्मी पनि काठमाडौं आउनुभएको थियो । हामी सिटरोल लिनका लागि निजामति किताबखानामा सँगै गएका थियौं ।

– घरबाट घुम्न जाने हिसाबले निस्केको भएर पोशाक (लुगा) मा ध्यान पुगेन । सामाजिक सञ्जालमा तस्वीर देख्दा अचम्मित र दुखित छु ।

– फोटोमाथि यति धेरै विवाद गरिनु आवश्यक थिएन होला । यसले मलाई निकै मानसिक तनाव भएको छ । मेरो परिवारलाई पनि अप्ठेरो भएको छ । सोच्दै नसोचेको कुरा भयो ।

आइतबार काममा फर्कने गरी काठमाडौं आएकी उनी यही तनावले गर्दा अहिले पनि काठमाडौंमै छिन् ।

गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ भन्छन्,

– उनीहरु दुवै जना बैरनीबाट काठमाडौं सँगै गएका थिए ।

– उनीहरुले ३० गते आफ्नो काम सबै सिध्याएका थिए ।

– त्यसपछि प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर आइतबार फर्किने गरी विदामा गएका हुन् ।

– मलाई साथीहरुले फोटो देखाए । महिला कर्मचारीको पोशाकचाहिँ अलि नमिलेकै हो । पछाडि ढाड तलसम्म देखिएको छ । सरकारी कर्मचारीले सरकारी सवारी साधनमा यात्रा गर्दा यस्तो पोशाक लगाउन हुँदैनथ्यो ।

– यस विषयमा मैले प्रमुख प्रशासकीय अधिकृतसँग सोधपुछ गरेको छु । दुवै इन्जिनियरसँग लिखित स्पष्टीकरण पनि माग्ने विचार गरेको छु ।

वरिष्ठ सञ्चारकर्मी निर्मला शर्मा भन्छिन्,

– कर्मचारी वा सार्वजनिक जिम्मेवारीमा रहेका मानिसहरुको पोशाक मर्यादित हुनुपर्छ । पब्लिक व्यक्ति भइसकेपछि ड्रेसअपमा चाहिँ हामीले ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।

– सामाजिक सञ्जालमा अहिले उनीमाथि धेरै नै एट्याक भएको छ । महिलाले गरेको एउटा कमजोरीलाई लिएर सामाजिक सञ्जालमा उनीमाथि धेरै आक्रमण गर्दा तनाव बढ्न सक्छ ।

– सामाजिक सञ्जाल प्रयोगकर्ताले यस्ता विषयमा सम्वेदनशीलता अपनाउन आवश्यक छ ।

भिडियो हेर्नुहोस्ः

Leave a Reply

Your email address will not be published. Required fields are marked *