- अमृता महत
शिक्षा मानिसलाई अँध्यारोबाट उज्यालोतर्फ लिएर जाने एक सशक्त माध्यम हो । आज विश्वमा भएका विकासका कार्य, विज्ञान र प्रविधिको क्षेत्रमा भएका विकास र विस्तार सबै शिक्षाकै उपज हुन् । हिजो मानिस जङ्गलमा बस्थ्यो, कन्दमुल खान्थ्यो, एक ठाउँबाट अर्काे ठाउँमा बसाईँ सरिरहन्थ्यो । समयको कालखण्डसँगै शिक्षाको प्रसार भयो मानिसले आफ्नो जीवन कसरी सहज तरिकाबाट बिताउन सकिन्छ भन्ने विषयमा सोच्यो यसको लागि उसले विभिन्न अध्ययन अनुसन्धान गर्यो र आज यो अवस्थामा आइपुग्यो ।
नेपालमा औपचारिक रुपमा शिक्षाको विकास विस २००७ सालपछि मात्रै भएको पाइन्छ । शिक्षाको विकास र विस्तार गर्ने क्रममा नेपालमा सरकारी तथा निजी विद्यालयहरु स्थापना भए र शिक्षा दिने र लिने कार्य अघि बढ्न थाल्यो जसले नेपालको शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका छन् । आज नेपालका गाउँ शहर हरेक ठाउँमा, शहरका गल्ली गल्लीमा विद्यालय छन् जसले गर्दा शिक्षाको उज्यालो घामबाट कहीँ कोही कुनै बालबालिका बञ्जित हुनु परेको छैन ।
भनिन्छ मानिसको व्यवहार परिवर्तन गर्दै मानिसलाई हरेक कुराको ज्ञान प्रदान गर्नका लागि शिक्षा सधै सहायक हुन्छ । शिक्षा लिने र दिने प्रक्रिया जीवन पर्यन्त चलिरहन्छ तर पछिल्लो समयमा विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड १९) महामारीले अन्य क्षेत्रसँगै शैक्षिक क्षेत्र पनि आक्रान्त भएको छ । नेपालमा सरकारको निर्णयलाई शिरोपर गर्दै चैतको ५ गते कक्षा ९ सम्मको परीक्षा सकेका विद्यालयहरु अझै खुल्न सकेका छैनन् ।
कतियप विद्यालयहरुले विद्यार्थीहरु लामो समयसम्म घर बस्दा त्यसबाट पर्न सक्ने मनोवैज्ञानिक असरलाई समेत मध्यनजर गरी भर्चुअल कक्षा सञ्चानल गरेका छन् । हाम्रो जस्तो विकसित देशमा विकसित देशमा जस्तो उच्च प्रविधि अपनाएर पढाउन र त्यस्ता प्रविधि विद्यार्थी तथा अभिभावकलाई सिकाउन थोरै गाह्रो कुरा थिएन तर पनि हार नमानी शिक्षकहरुले निरन्तर कक्षा सञ्चानल गरे । तर निजी विद्यायलहरुलाई समय समयमा अन्योल सिर्जना हुने गरेको छ । कहिले विभिन्न सञ्चार माध्यमहरुमा अनलाइन कक्षा बन्द गर्न सरकारले आदेश दिएको कुरा आउँछ, कहिले अनलाइन कक्षा औपचारिक रुपमा सञ्चालन गर्नु भन्ने सूचना आउँछ अनि कक्षा सञ्चालन गरेको एक हप्तामा शुल्क नलिनु भन्ने सूचना आउँछ यसबाट विद्यलयहरु अन्योलमा परेका छन् ।
अचेल निजी विद्यालयहरुले शिक्षकलाई तलब खुवाउन नसकेको कुराले निकै बजार तातेको छ विभिन्न निजी विद्याालयहरुले शिक्षकहरुलाई मनोमानी अवकाश दिएको कुरा पनि सञ्चार माध्यममा आउन थालेका छन् । यस विषयमा सरकारसँग विभिन्न माग राखेका प्याब्सन तथा एनप्याब्सनले आफ्ना माग पूरा नभएका कारण साउन १ गतेदेखि अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेका छन् । वास्तवमा यसो गर्नु रहर नभएर बाध्यता हो । यसरी विद्यालयहरु अनिश्चित कालका लागि बन्द गर्दा विद्यार्थीहरुले अनलाइनको माध्यमबाट भए पनि शिक्षा पाइरहेका थिए यो कुराबाट समेत विद्यार्थीहरु बञ्चित भएका छन् । हुन सक्छ कतिपय विद्यालयहरुले आर्थिक भार थेग्न नसकेर शिक्षकहरुलाई अवकाश दिएका होलान् । कतिपय विद्यालयको हकमा यी सब कुरा यथार्थ पनि होलान् । वास्तवमा यस्तो गर्नु निजी विद्यालयहरुको रहर नभएर बाध्यता हो ।
विगत चार महिनादेखि विद्यालयहरु बन्द छन् । निजी विद्यालयको आयस्रोत भनेको विद्यार्थीबाट लिने शुल्क हो । अहिले न विद्यालय खुलेका छन् न शुल्क नै लिन पाएका छन् न शिक्षकलाई तलब नै दिन पाएका छन् । यसरी निजी विद्यालयका शिक्षक भोकै छन् । उनीहरु आफ्नो पीडा कसैलाई सुनाउन सक्दैनन् । मानिसहरुले सामाजिक सञ्जालमा भनेको सुनिन्छ निजी विद्यालयहरुको नाफा खै ? के ऋण लिएर तलब खुवाउन सक्दैनन् निजी विद्यालयहरु ? जसले पनि यस्ता कुरा पोष्ट गर्नुभएको छ तपाईँ भन्नुहोस् के सबै निजी विद्यालयहरु नाफामा छन् ? के ऋण लिएकै भरमा तलब खुवाएर निजी विद्यालय टिक्न सक्छन् ?
अस्ति भर्खर असार मसान्तमा सरकारी विद्यालयका शिक्षक कर्मचारीहरुका चैेतदेखि असारसम्मको पारिश्रकि आउने भन्ने खबर एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले पोष्ट गर्नुभएछ र त्यसको कमेन्टमा एकजना “यो हाम्रो मेहेनत र योग्यताको प्रतिफल हो” भनेर लेख्नुभएको थियो । यो कमेन्टबाट सजिलै बुझिन्थ्यो कि उहाँ सरकारी विद्यालयको शिक्षक हुनुन्थ्यो । यो पढेपछि मेरो मन साह्रै अमिलो भएर आयो र आफैंले आफैंलाई प्रश्न गरे के आज जति पनि निजी विद्यालयमा पढाउने शिक्षक शिक्षिकाहरु हुनहुन्छ सबै योग्यता क्षमता नभएका शिक्षक शिक्षिका हुन त ?
आज जति शिक्षहरुले तलब पाएका छैनन् सबै अयोग्य भएर तलब नपाएका हुन् त ? यदि निजी विद्यालयमा अयोग्य शिक्षक हुन्छन् भने सरकारी र सामुमायिक विद्यालयको भन्दा योग्य विद्यार्थी किन निजी विद्यालयमा उत्पादन भएका छन् त ? सरकारी र सामुमायिक विद्यालयको तुलनामा किन निजी विद्यालयको नतिजा राम्रो छ ? के निजी विद्यालय सञ्चालकहरुले शिक्षकका योग्यता क्षमताको जाँचबुझ नगरी नियुक्ति दिन्छन् ?
हेर्नुहोस् सबै निजी विद्यालय नाफामा छैनन् र जति नाफामा छन् तिनीहरुले नाफालाई आफ्नो पेवा नबनाएर विद्यालयको शैक्षिक, भौतिकस्तर सुधार्दै आधुनिक पद्वती अनुसार कसरी शिक्षा दिन सकिन्छ भनेर लगानी गरेका छन् । शिक्षा विकासको मेरुदण्ड हो । शिक्षा बिना विकासको कल्पना गर्न सकिदैन र वैज्ञानिक शिक्षा दिएर बद्लिदो समयअनुसारको शिक्षा दिने कार्यमा निजी विद्यालयहरु दिलोज्यानले लागेका छन् । तर देशमा योग्य र दक्ष जनशक्ति निर्माण गर्ने निजी विद्यालय तथा शिक्षकहरु आज निकै कठिन अवस्थाबाट गुज्रिरहेका छन् । कतिपय विद्यालयहरु उठ्नै नसक्ने गरी थला पर्दैछन्, शिक्षकहरु भोकै छन् यो अवस्थामा राज्य मौन बस्न मिल्दैन ।
हुन त देशमा सरकार आफैं बिरामी छ । आफ्नै आन्तरिक कलहले अझै निकास पाउन सकिरहेको छैन । तर निजी विद्यालय र शिक्षकहरु पनि यहीँ देशका मानिस हुन् जसले आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र नभएर देशको मुहार फेर्ने सपना बोकेका छन् ती धराशय हुनु भनेको देशको शैक्षिक अवस्था धरासय हुनु हो । त्यसकारण समयमा नै उचित निर्णय गरेर निजी विद्यालय र शिक्षकहरुको समस्यालाई सम्बोधन गर्नु आजको आवश्यकता भइसकेको छ । शिक्षक भोकै रहने अवस्थाले धेरै व्यतिmहरुलाई शिक्षण पेशाप्रति नै वितृष्णा पैदा गर्न थालेको छ । यदि यस्तै अवस्था कायमै रहेमा शिक्षण पेशाबाट थुप्रै दक्ष जनशक्ति पलायन हुनेछन् र यसको घाटा निजी विद्यालयलाई मात्र नभएर सिङ्गो राष्ट्रलाई पर्नेछ ।
यसकारण यो समय भनेको बाँच्ने र बच्ने समय हो । सबै नेपालीहरु यही राज्यका नागरिक हुन् । सरकारले लकडाउन खुकुलो बनाएपछि विस्तारै उद्योग कलकारखाना, पसल खुल्न थालेका छन् दुई चार घण्टा पसल खोलेर भए पनि सबै जीवीकोपार्जनको मेलोमेसोमा लागेका छन् । तर विद्यालयका शिक्षकहरु भोकै छन्, उनीहरु शायद बेतलबी बिदामा छन्, उनीहरु यो समयमा न अर्काे कुनै नयाँ काम सुरु गर्न सक्ने अवस्थामा नै छन् ।
आखिरी खाई नखाई गरेर शिक्षा क्षेत्रमा योगदान दिने महान शिक्षकहरु आज घर न घाटको भएका छन् । काम पर्दा प्रयोग गरेर फाल्ने टि.सि.यू पेपर जस्तो भएका छन् । यसमा राज्य किन मौन छ ?, यसको बारेमा राज्यले केही सोच्नु पर्देन ? भोका जनतालाई राहत प्रदान गर्नु के राज्यको जिम्मेवारी होइन ? खाली निजी क्षेत्रको नाफा मात्र खोजेर हुन्छ ? आपतको समयमा एक अर्काको गल्ती कमजोरी खोज्नु भन्दा हरेक समस्याको अध्ययन अनुसन्धान गरेर समस्या समाधानको विकल्प खोज्नु आवश्यक छ । यदि समयमै निजी विद्यालमा अध्ययनरत शिक्षकहरुको समस्या समाधान गर्न सकिएन भने शैक्षिक क्षेत्रमा भयानक दुर्घटना नहोला भन्न सकिन्न ।