पूरक परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई के गर्ने सरकार ?

NEWS

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत चैत ६ गतेदेखि माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षा सञ्चालन हुने तालिका सार्वजनिक गर्‍यो ।

बोर्डले नियमित ग्रेड वृद्धि तथा प्राविधिक समेत सबैको चैत ६ गतेबाट १७ गतेसम्मको परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

तर, अन्तिम समयमा आएर सरकारले एसइई परीक्षा स्थगित गर्ने घोषणा गर्‍यो । सरकारको यो निर्णयबाट करिव पाँच लाख विद्यार्थीको परीक्षा रोकिन पुग्यो ।

तत्कालीन कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्येनजर गर्दै एसइई परीक्षा स्थगित गरेको थियो ।

परीक्षाको लागि तयारी गरिरहेका लाखौं विद्यार्थी अन्यौलमा परे । अब कहिले कसरी परीक्षा होला भन्ने सोचमा थिए विद्यार्थी ।

यसैबीच, सरकारले (जेठ २८ गते) यस बर्षकै एसइई परीक्षा खारेज गर्ने र विद्यालयद्वारा गरिएको आन्तरिक मूल्यांकनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी सरकारले निर्णय गर्‍यो ।

देशभरका शिक्षण संस्थाहरू बन्द रहेका, कतिपय विद्यालयमा क्वारेन्टिन सञ्चालन गरिएको र रोगको संक्रमणको जोखिमका बीच विद्यालयमा परीक्षा केन्द्र कायम गरी विगतमा झैँ परीक्षा सञ्चालन गर्न सकिने अवस्था निकट भविष्यमा नरहेको सन्दर्भमा विद्यार्थीको अध्ययन निरन्तरता तथा माथिल्लो तहमा अध्ययनको अवसर सुनिश्चितताको दायित्वबोध गरेर मन्त्रिपरिषद्ले एसइई परीक्षा खारेज गर्ने निर्णय गरेको शिक्षामन्त्रीले जानकारी गराए ।

सरकारले रेगुलर (नियमित) तर्फका बिद्यार्थीका लागि यो निर्णय गरेको हो । तर, पूरक परीक्षाका विद्यार्थीका लागि सरकारले कुनै निर्णय गरेको छैन । जसका कारण पूरक परीक्षाको तयारीमा बसेका विद्यार्थीहरु समस्यामा परेका छन् ।

जसले म्यानेजमेन्ट पढ्न पाएनन्

२०७५ सालमा एसइई परीक्षा दिएका एक विद्यार्थी काठमाडौंको एक कलेजमा भर्ना भए, म्यानेजमेन्ट विषयमा । पछि उनको एसइई रिजल्ट आयो । रिजल्टमा अनिवार्य गणित विषयमा उनको ‘ई’ ग्रेड आयो ।

विद्यार्थीको गणितमा ई ग्रेड आएसँगै कलेजले ‘ई’ ग्रेड आउने विद्यार्थीले म्यानेजमेन्ट पढ्न नपाउने बतायो । विद्यार्थीलाई कलेजले म्यानेजमेन्ट पढ्न नपाउने भन्दै मानविकी संकायमा भर्ना हुन भन्यो ।

विद्यार्थी म्यानेजमेन्ट नै पढ्न चाहन्थे । तर कलेजले उनलाई पढ्न नदिने भयो । उनी निकै तनावमा परे ।

यसैबीच, सरकारले परीक्षाफल चित्त नबुझेका विद्यार्थीले रिएक्जाम दिन पाउने व्यवस्था गर्‍यो । ती विद्यार्थीले रि एक्जामको लागि विद्यालयमा सम्पर्क गरे । रि-एक्जामको लागि उनले ५०० रुपैयाँको फारम पनि भरे । परीक्षाको प्रवेश पत्र पनि आयो । चैत ८ गते उनको गणित विषयको परीक्षा हुने तालिका पनि थियो ।

तर चैत ६ गतेदेखि हुने भनिएको एसइई परीक्षा नै सरकारले अघिल्लो दिन स्थगित गर्‍यो ।

यो एक विद्यार्थीको उदहारण मात्र हो । यसरी पूरक परीक्षामा रहेका सयौं विद्यार्थी अहिले निकै तनावमा छन् । उनीहरुको लागि राष्ट्रिय परीक्षा बोर्ड र सरकारले केही निर्णय नगर्दा विद्यार्थीहरु मनोवैत्रानिक त्रासमा परेको अभिभावकहरुले बताएका छन् ।

सरकारले पूरक परीक्षा दिने विद्यार्थीको निम्ति समेत छिट्टै निर्णय गरिदिन विद्यार्थी तथा अभिभावकले माग गरेका छन् । पूरकतर्फका विद्यार्थीको हकमा समयमै उचित निर्णय गर्न शिक्षक अमृत थापाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *