सर्लाहीमा नेकपा कार्यकर्ताको अपहरणपछि हत्या भएको छ ।
सर्लाहीको रामनगर गाउँपालिका ४ बैरियाटोलका अन्दाजी ४० वर्षीय रामजुलुम रायको अपहरणपछि हत्या भएको हो ।
नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले रामजुलुम आफ्नो पार्टीको कार्यकर्ता भएको जानकारी दिए ।
बौहर्वा प्रहरी चोकीको छेउमै घर भएका रायको गोली प्रहर गरी हत्या भएको अवस्थामा बाँसघारीमा शव फेला परेको रामनगर गाउँपालिका प्रमुख कृष्णप्रसाद बर्माले जानकारी दिए ।
रायको घरभन्दा एक किलोमिटर पूर्वमा उनको हत्या भएको हो । मुख बाँधेर गोली प्रहार गरी हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।
रायलाई शनिबार राति अज्ञात समूहले अपहरण गरी लगेर हत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।
हत्या गर्नुको कारण र हत्याराको पहिचान खुलेको छैन ।
घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।