कोभिड-१९

BLOG
Spread the love
  • डीएसपी, चिरन कोइराला

खोलाको किनारमा सुकुम्वासी बस्ती छ। लहरै बनेका जस्ताले छाएका भुइँ घरहरुभन्दा केही पर राम बहादुरको अर्को एउटा त्यस्तै घर छ।

दुई छोरा छोरी र श्रीमती सहित बस्दै आएको रामबहादुरको जीवन ज्याला मजदुरी गरेर गुजारा भइरहेको छ।

घरको वरिपरको जिर्ण घेरावेरा पोहोरसालै फेर्ने विचार गरेको थियो, खोलाले बगाएन र रहेछ भने आउने साल फेरौला भनेर बाटो हेर्यो । हुन त यसरी उसले खोलाको बाटो हेरेको पनि २–४ वर्ष भइसकेको छ ।

पाँच कक्षासम्म चाहीँ छोरीलाइ पनि पढाएकै हो । आमाले दिनभरी खोलामा गिट्टी कुट्नु पर्ने हुँदा घरमा भरथेग गर्ने भइहाली भनेर छोरीलाइ स्कुल नपठाउने निधो गरे पनि छोरो भने विद्यालय जाँदैछ । फेल नभएसम्म छोरा चाहीँ विध्यालय जाँदै गरोस् भन्ने उनीहरुको घर सल्लाह भएको पनि छ ।

आफ्नो ज्याला मजदुरी र श्रीमतीको गिट्टी कुटाइले घर राम्रैसँग चलेकै छ । बिहान बेलुकाको छाक मात्र हैन बेला बेलामा मासु रक्सीमा रमाउन समेत पुग्ने गरेको छ । वर्तमान चलेकै छ भविष्यका लागि पाखुरा छँदैछन् ।

छोराछोरीको करकापले घरमा टीभी जोड्ने योजना २–४ पटक बने पनि बन्दोबस्त भइहालेको छैन । बरु अलिपरको घरमा छोराछोरीसँगै पछि लागेर कहिलेकाहीँ श्रीमान श्रीमती नै टीभि हेर्न जान्छन् र रहर मेट्छन् ।

चीनबाट सुरु भएको कोरोनाले इटटीमा मानिस मरे, अमेरिकामा मानिस मरे, संसारमा संक्रमितहरु लाखौं पुगिसक्यो, नेपालमा पनि फैलँदै छ । टोलबासीलाई यस्ता समचारले खासै तताउँदैन थियो । सात समुन्द्रपारीको समाचार यो बस्तीमा आइपुग्दा त्यसै सेलाइसकेको हुन्थ्यो ।

दैनिक आइरहने यस्ता समाचारहरु रामबहादुरको पनि प्राथमिकतामा पर्दैन थिए न महत्व दिन्थ्यो न तीनले प्रभाव पार्थे। तर साहुकोमा काम गर्न जाँदा उसले एकदिन अनायासै अवरोध झेल्नु पर्यो । बाटोमा सवारी साधन चलेका थिएन । मानिसहरु पनि पातला देखिन्थे । सुरक्षाकर्मीहरु आवतजावत नियन्त्रण गरिरहेका थिए ।

उसलार्इ पनि गन्तव्यतर्फ जान दिइएन र फर्काइदिए । बल्ल उसले कुरो बुझ्दै गयो । नेपालमा पनि कोरोना प्रवेश गरिसकेको र संक्रमितको संख्या दैनिक थपिइरहेको । औषधि उपचार नभएको सरुवा रोग हुनाले सरकारले आवतजावत र भेटघाट पूर्णरुपले बन्द गर्न लकडाउन घोषणा गरेको ।

यो सबै वुझेपछि रामबहादुर फर्केर घर गयो । घर पुगेपछि अझ प्रष्ट भयो, छोराको स्कुल र श्रीमतीको धन्दा पनि बन्द भएछ । परिस्थितिसँग सम्झौता गरेर रामबहादुरका दिनहरु घरमै बित्न थाले । हफ्ता दश दिन भइसक्यो बन्दाबन्दी झन् घनिभुत हुँदै गयो । यता घरमा अन्नको जोहो सकिदै गयो । जेनतेन दुई छाक टर्दै थियो, अब भने एकछाकले दिन काट्नु पर्ने भयो । जे पर्ला पर्ला भनेर राति नै उठेर साहुकहाँ गयो ।

गेटमा ताला देखेर बोलायो । तर, महामारी फैलिसकेको र सरकारले नै बन्द गरेकोले तत्काल काम नखुल्ने कुरा बुझेपछि विकल्पविहिन भएर घरतिर फर्कियो । बाबुको प्रतिक्षामा बसेका छोराछोरीसँग नबोली घरको आँगनमा टुक्रुक्क बस्यो र श्रीमतीको अनुहारमा पुलुक्क हेर्यो ।

श्रीमानको विवशता बुझेर श्रीमती घरभित्र पसी । भित्रबाट लुकाएर राखेको ५०० रुपैयाँको नोट र नाकको फुली झिकेर ल्याइ र श्रीमानको हातमा राखिदिइ ।

फुली चाहीँ नखोल, यती भए २-४ दिनलाई धानिएला अनि त केही उपाय गरौला नि । श्रीमानलाइ भरथेग गर्दै श्रीमतीले भनी परेको बेला काम लाग्छ भनेरै त लगाएको हो नि, गहना लैजाउ, चामल चिउरा के–के पाइन्छ लिएर आउ ।

श्रीमतीको गहनाको नाममा भएको जम्मा एउटा फुली पनि बेचेर खानु पर्दाको पीडा लुकाउदै दोकान तिर लाग्यो राम बहादुर ।

सात-दस-पन्ध्र हुँदै दिनहरु बितिरहे । बन्दाबन्दी झनझन् कसिलो हुँदै गयो । काम गरेर गुजारा गर्ने सम्भावना पनि हराउँदै गयो । घरको जोहो फेरि रित्तिदै गयो । चुल्हो नबल्ने देखेर पीर थपिदै गयो । हतास मनस्थिति बोकेर राम बहादुर बस्तीतिर लाग्यो । आशाको दियो फेरि बल्यो । राहत वितरणको लागि तयारी गरिँदै रहेछ ।

सही मौकामा पुगेकोले आफूलाइ भाग्यमानी सम्झिँदै राहतको लाइनमा लाग्यो र राहत पनि मनग्ये पायो, चामल चिउरा आलु तेल आदि आदि । राहत दाताहरुको अनुरोधमा फोटो पनि खिचायो मुहार पुस्तिकामा राख्न । राहतको भारी बोकेर विजयी मुद्रामा राम बहादुर घर फर्कियो । राहतभित्रिएसँगै घरमा खुशी र सन्तोषको सञ्चार भयो ।

४-५ दिन पछि राम बहादुरलाइ एक्कासी ज्वरोले थला पार्यो । श्रीमतीको पानी पट्टीले पनि काम गरेन ज्वरो वढिरह्यो । खोकी पनि थपियो अनि सास फेर्न गारो हुनथाल्यो । छोराले छिमेकीलाइ थाहा दियो । केही क्षण पश्चात् छिमेकिकीहरु उसको घर छेउछाउ भेला भए र परपरबाट चिहाउन थाले तर न कोही सोध्न आए न नारी छाम्न नै । एकैक्षणमा एम्बुलेन्स आएर घर अगाडि रोकियो ।

व्यक्तिगत सुरक्षा उपकरणसहितको अनौठो पोशाक लगाएका मानिसहरु ओर्लिए । उनीहरुको इशारामा परिवारका सदस्यहरु पनि राम बहादुरबाट टाढा भागे । उ लगातार वेदनामा छटपटिरहेको थियो, कुनै तन्ना जस्तो प्लास्टिकको बस्तुमा राम बहादुरलाई बेरियो र गाडीभित्र राखेर हुइँक्याइयो । राम बहादुरका परिवारलाइ क्वारेन्टाइनमा राख्न अन्यत्र कतै लगियो ।

राहत वितरणसँगै कोरोना फैलिएको सूचनासहित वस्ती सिल गरियो । भोलिपल्ट समाचारमा प्रसारित हुदै थियो बस्तीका ५० वर्षिय पुरुषलाइ कोरोना भाइरस (कोभिड-१९) को संक्रमण !

Leave a Reply

Your email address will not be published. Required fields are marked *