‘बाल्यकालको सम्झना’

BLOG

सपना पूरा गर्न घर छोडेर हिडेकि म, मलाई के थाहा थियो र कि कुनै दिन घर फर्किन पाउनु नै मेरो सपना बन्ला भनेर।

जीवनको ब्यस्ततालाइ विश्राम दिदै आज आफ्नो लागि के थोरै समय निकालेकी थिए, मेरा आँखा त मलाई पत्तै नदिइ रसाउन भ्याइसकेका रहेछन् अनि फेरि आँसु पुछ्दै टोलाइरहे म, त्यो बाल्यकाल सम्झेर। घडीको सुइरोको दौडलाई महशुस गर्नै सकिनछु ।

मैले कहिलै सोचेकी थिइन ती बाल्यकालका स–साना पल आज मेरो जिबनको अबिस्मरणिय क्षणहरु बन्नेछन् भनेर।

आज धेरै बर्षपछि बालपन कापीका पन्नामा कोरिरहँदा मेरा आँखाले प्रत्यक्ष मेरो जन्मघर र मेरा ती पुराना साथीहरु देखिरहेका छन्, मेरा कानले ती गल्लीमा गुन्जियेका हाम्रो हासो सुनिरहेका छन् अनि मेरो मनले त्यो धुलो, हिलो, घाम नभनी मडारिरहेको चौरीहरु महसुस गरिरहेको छ । अचानक मैले बिगत सम्झिएँ, मेरा हात कापिरहे, ध्यान पन्छाउँदै बर्तमान सम्झिन पुगेछु, मेरा खुट्टा लर्बरिरहे अनि सोच्दै नसोचेको भबिष्य देख्न पुगेछु जहाँ मेरो भाग्य टाढा बसि मलाई नै टुलुटुलु हेरिरहेको रहेछ । यही चिन्ताले मन पिरोलि रह्यो।

म बिवश छु, जिन्दगीको उतारचढावमा कैद एक लाचारताको प्रतिमूर्ती । कास, म समयलाई फर्काउन सक्थें । यदि समय मेरो बसमा हुन्थ्यो त म जीवनको भागदौडबाट फुत्किएर एकै सासमा दौडिदै घर पुग्ने थिएँ । भो मलाइ चाहिएन मृगतृष्णा, पैसामा अडिएका सम्बन्ध अनि क्षणिक सुख । बरु म त्यही निर्मल बाल्यकालमा आफूलाइ खोज्न चाहान्छु किनकि घरबाट धेरै टाढा यो दूर देशमा हजारौंको भिडमा पनि एक्लिएकी छु म ।

कठै मेरा बा–आमा भने हरेक साँझ मेरै बाटो हेर्दा हुन्। साच्चै मेरा बा–आमा के गर्दै होलान् ? के म कुदेका गल्ली देख्दा मेरी आमा अझै मलाई सम्झेर, साँझ पर्यो नानी घर आइज भन्दिहुन् ? मेरा बा त्यसै गरी दुई हात कम्मर पछाडी बाधेर हिँड्दै छन् कि हिड्न सक्न छाडे होलान् ? के मेरी आमा अझै बासँग त्यसैगरी गनगन् गर्दैछिन् ? कि छोडिन् होला ? मनमा प्रश्नको पहरो खस्यो अनि अतालिँदै सम्झिएँ,धेरै बर्षपछि म घर फर्किंदा के मेरा बा–आमाका चाहुरिएका गालामा त्यही त्यस्तै जवानीको जस्तो मुस्कान होला ? यी सारा कुरा मनमा कल्पिरहेकी छु, आज घरको खुब याद आइरहेछ।

सानो छँदा घरको पेटीमा बसी सृष्टि, लिजा, वर्षा, मनिषा सँग खेलेका ती गट्टीहरु मैले घर छाड्नु अघि, घरै अगाडिको धुपीको फेदमुनि लुकाएकी थिएँ । के ती पाँचढुङ्गगे गट्टी अझै त्यही होलान् ? कि हाम्रो मित्रता जस्तै कोही कता कोही कता छरिए होलान् ? त्यो समय कति स्वर्णीम थियो जब टोलैभरिका केटाकेटी घरबाट भागी–भागी कमिलाको तातीझैँ लस्करै घघरुका हागा र ऐंसेलु टिप्न घारीघारी बरालिने गर्थ्यौं । काँडामा अल्झिएर कति लुगा च्यात्तिए,औंलामा कति हुन् कति काँडा पनि बिझाए । घर फर्किंदा गतिगरास सकेर आएछन् भन्दै पिटार्इ नखाएको पनि कहाँ होर ? च्यात्तिएका ती कपडा पुराना भए, बिझेका ती काँडा पनि कता पुगे पुगे ।

त्यही ऐंसेलुको काँडामा कोत्रिएर सम्झना बनेका घाउ चाहीँ अझैसम्म पनि खत बनेर हातैभरी छापिएका छन् तर ती हराएका साथी अनि बिर्सिनसक्नु क्षण भने मनको गहिरो कुनामा बिझाइरहन्छन्, चस्स,चस्स । के ती घघरु टिप्न जाँदाका साथी आस्मिता, सपना र जुनुलाइ यी सब कुराहरु याद होलान् ? के उनीहरु पनि मलाई यसरी सम्झिदा हुन् ?

कुनै कुनै साथी त्यस्ता पनि थिए जो भुत भनेपछि पिसाब नै झार्न खोज्थे, हाहा । सानैबाट छुदृया प्रवृत्तिको थिए म, त्यसैले डराएकालाइ अझै डर देखाउन, ‘टृङ,टृङ,टृङ कौन आया ? पोस्टम्यान आया।’
‘क्या लाया ? चिट्ठी लाया।’
‘क्या लिखा ? आज रात १२ बजे भूत आएगा’ भन्दै खेदाउने गर्थें । बाल्यकालमा भुतसँग डराउने मेरा ती साथीहरु कहालीलाग्दो भविष्य सम्झेर अहिले तर्सिन्छन् कि तर्सिदैनन् होला ?

खेलै खेलमा राजाले भनेको एउटा गिलो फर्सी दिनु अरे भन्दै २,४ जना सिपाही बनेर आउँथे । हामी पनि के कम ? ७-८ जना लाइन बनाएर भेटेनरी अफिसको पेटीमा गमक्क पर्दै बस्थ्यौं, त्यो पनि आफू पहिला फर्सी छानिनलाइ । बिचरा उनीहरु हामीलाइ उठाउन नसकेर लछारपछार पार्दै लइजान्थे । आखिर जसरी भए पनि खेल त खेल्नै पर्थ्यो । मज्जै बेग्लै थियो त्यो बाल्यकालको । के त्यो बेला फर्सी छानिन पाउँदाको जस्तै खुशी, मेरा साथी अहिले आफ्नो जीवनमा होलान् ?

सम्झिन्छु कति अमूल्य थियो त्यो समय जहाँ नाच्नलाई अहिलेको जस्तो रेडियो, मोबाइल केही चाहिँदैन थियो । बस्, रंगीचंगी कपडाको सानो टुत्रा टाउकोमा कस्नासाथ ती कलिला ओंठले आफै गीत बर्बराउन थाल्थे, ‘हरियो जंगल क्या राम्रो मङल हिमाल हाँसेको, घन्काइ मादल लच्काइ कम्मर हामीले नाचेको हो हो…’ हामीले नाँचेको कुनै लाजबिना बाटो, कुना, कन्दरा नाँच्दै हिँडेको के एस्तरले यी कुरा सम्झिँदी हो ? म भने ती पल सम्झिरहन्छु।

त्यो बेला मनमुटावको अर्थ त थाहा नै थिएन । डन्डी बियो खेलमा हार्नेलाई अफ्ठ्यारो–अफ्ठ्यारो ठाउँमा चुउवा कुदाउँथे । एकदिनको कुरा हो, खेल्दै जाँदा म हारें, अनि चुउवा कुद्ने पालो मेरो आयो । सास नफेरी कुद्नु परथ्यो, झुक्केर मात्र सास फेरे फेरि सुरु देखि कुदाउँथे। आखिर अरुले जिते पनि हार कहिल्यै स्वीकार्य थिएन मलाई । भयो म खेल्दिन भन्दै सन्किंदै घर आएँ । अहिले सम्झिँदा त्यो रिस हैन, आफैसँगको एउटा डर रहेछ । को भन्दा को पो कम थिए र । बालपन न हो ।

भोलिपल्ट बिहान ७ नबज्दै सन्जय हिजोको चुउवा कुद्न बोलाउन घरमै लिन आएपुगेछ । अब के नै गर्न सक्थें र ? भिजेको बिरालो जस्तो लसक्क पर्दै उस्को पछिपछि हिँडें । भोकै पेट तारा आन्टीको घर पछाडिको बारीदेखि काराघरको भित्तासम्म मलाई दौडाइ–दौडाइ चुउवा कुदाको के उसलाई याद होला ?

निबिप, मेरो काकाको छोरा थियो । सानैबाट सँगै पढेकाले हामी खुबै मिल्थ्यौं । लुकीडुम खेल्दा उसले सुरुमै मलाई देखे पनि, मेरो एक आँखाको इसारामा नदेखे जस्तो गर्दै जान्थ्यो । कयौं पटक खेलमा मलाई डुम हुन बचाएको उसको त्यो गुन मैले उसलाई खै कहिले तिर्न सकुँला ? के उ मलाई अहिले सम्झिदो हो ?

सुरज र म स्कुल क्याप्टेन थियौं । स्कुल असेम्ब्लीमा अगाडि गएर कमाण्ड गर्न पर्थ्यो । आफू जानुपर्छ भनेर हतार हतार ‘टुडे इट्स बिपनाज ट्रन’ भन्दै कैयौं पटक मलाई फसाएको उस्लाई याद होला ? ऊ अझै त्यसरी नै अरूलाई अगाडि बढ्न प्रोत्साहन गर्दैछ कि आफू पनि जीवनमा अगाडि बढ्यो होला ? धेरै सम्झिन्छु म, यी विद्यार्थी जीवनका भयानक क्षणहरु।

जब कुरा खुशीको आउँथ्यो, हामी धेरै स-साना कुरामा खुशी महसुस गर्थ्यौं ।२० रुपैयाँमा झोलाभरी हुर्रे चाउचाउ, ग्लुकोज विस्कुट, ल्याक्टोफन चकलेट र बाबा बल्गम बोकेर प्लास्टिक हल्लाउँदै पिक्निक खान जाने, हाम्रो त्यो शिक्षा अफिस परतिरको बासको झ्याङ अझै त्यहीँ छ कि कसैले मासिदिए होलान् ?

सिन्काले कोरेर बालुवामाथि बनाएका हाम्रा ती घर, स-साना गिट्टी खोजेर चिटिक्क पारेका ती घर छेउका बाटा अनि छिमेकीका फूलबारीबाट राम्रा-राम्रा फूलका थुँगा चोरेर बालुवामै कोरेर सजाइएका ती बगैंचा के त्यस्तै होलान् ? कि हाम्रो मित्रतालाई झै पापी समयले कतै बगाइदियो त ?

समय पनि कति चाँडै फुत्किँदो रहेछ । पहिला हेरि, अहिले त्यही मित्रता पनि कति फितलो भएको आभाष हुन्छ । कति व्यस्तता छाएछ जीवनमा । जुन साथीहरुसँग आधा जीवन बिताइयो आज उनीहरुलाई खबर सोध्ने मसँग फुर्सद छैन न उनीहरु नै मलाई सम्झिन्छ्न् ।

‘बम ब्लाष्ट’ खेल्दा चुंगीसँग डराउँदै छक्किने हामीलाई आज पत्तै नदिई समयले यसरी छक्काईदिएछ कि हामी एक अर्कालाई नै बिर्सन बाध्य भएछौं । हेर्दा हेर्दै मित्रता मासिँदै गयो अनि त्यो बाल्यकालको माया पनि । के हामीले बारीको माटो खनेर बनाएका भगवानको मूर्तिले मेरो मनको कुरा सुन्लान् ?

अब, केवल एउटै मात्र घिडघिडो छ मनमा कि बस समयलाई एकपटक फर्काउन सकुँ ताकी शुन्यतामा बित्दै गएका मेरा हरेक साँझले पुनः जीवनको सुन्दरता महसुस गर्न सकोस् । फेरि यो मनले बाल्यकालको आभाष गर्न सकोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *