सात वर्षपछिको बिहानी, निर्भया बलात्कारका दोषीलाई फाँसी अघि जे गरियो…

SOCIETY
Spread the love

एजेन्सी । सात वर्ष ३ महिना चार दिनपछि त्यो बिहान झुल्कियो । जुन बिहान देखेर निर्भया साँच्चिकै मुस्कुराइन् । शुक्रबार बिहान निर्भया बलात्कार तथा हत्याकाण्डका चार जना दोषीलाई अपराधको सजाय फाँसी दिइयो ।

सन् २०१२ डिसेम्बर १६ । भारतको राजधानी नयाँ दिल्लीको सडकमा राति गुडिरहेको बसभित्र निर्भयामाथि ठूलो बज्रपात भयो ।

६ जना व्यक्तिले निर्भयाको सामूहिक बलात्कार गरे ।

यी ६ व्यक्तिमध्ये राम सिहंकले जेलभित्रै आत्महत्या गरे, उनी बस चालक थिए । एक नाबालिक थिए जसले तीन वर्षको जेल सजाय काटेर २०१५ डिसेम्बर २० मा रिहा भइसके ।

बाँकी चार जना मुकेश सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षय ठाकुरले अपराधको सजाय सात वर्ष ३ महिना चार दिनपछि पाए ।

चारै दोषीलाई तिहाड जेल नम्बर–३ मा मार्च २० को बिहान साढे ५ बजे फासीमा झुण्ड्याइयो ।

फाँसी दिनका लागि जल्लाद पवन १७ तारिखमै तिहाड जेल पुगिसकेका थिए ।

फाँसी अघि…

१. दोषीलाई शुक्रबार बिहान साढे पाँच बजे फाँसी दिनु तीन घण्टाअघि दोषीलाई (जेलभित्र सुतिरहेको स्थानबाट) उठाइयो ।

२. उनीहरुलाई नुहाउन लगाइयो । उनीहरुलाई सफा र नयाँ लुगा लगाउन दिइयो । विनयले भने नयाँ लुगा लगाउन मानेनन् ।

३. उनीहरुलाई केही खाने कुरा खान दिइयो । तर, कसैले पनि केही खाएनन् ।

४. फाँसीको एक घण्टाअघि जेल सुपरिन्टेन्डेन्ट, मेडिकल अफिसर र डिस्ट्रिक्स मजिस्ट्रेटले दोषीसँग भेट गरे ।

५. डेप्युटी सुपरिटेन्डेन्टले दोषीलाई जेल नम्बर–३ मा पुर्‍याए ।

६. दोषीहरुलाई डेथ वारेन्ट पढेर सुनाइयो ।

७. दोषीलाई पासोको मुनी उभ्याइयो । जल्लाद आए । दोषीको खुट्टा कसेर बाँधे । जल्लादले नै उनीहरुको गर्धनमा पासो हालिदिए ।

८. सुपरिटेन्डेन्टले इशारा दिएपछि जल्लादले लिभर ताने । चारै दोषी फाँसीमा झुण्डिए ।

९. स्वास्थ्य अधिकारी (चिकित्सक) ले दोषीको मृत्यु भएको पुष्टि गरे र शव निकालियो ।

क–कसले देखे ?

जेल सुपरिटेन्डेन्ट, डेप्युटी सुपरिटेन्डेन्ट, मेडिकल अफिसर । उनीबाहेक डिएम र एडिएम पनि त्यहाँ बसे जसले वारेन्टमा हस्ताक्षर गरे । उनीहरुबाहेक कन्स्टेबल, हेड कन्स्टेबल वा वार्डन पनि त्यहाँ थिए ।

जबसम्म यी दोषीको मृत्युदण्डको प्रक्रिया पूरा भएन तबसम्म जेलका अन्य कैदी आ–आफ्ना सेलभित्रै बन्द रहे ।

आमाले छोरीको फोटो छातीमा टाँसिन् र भनिन्

देशमा ‘न्यायको समय’को सबैले प्रतीक्षा गरिरहेका थिए ।

यसैबीच, छोरी गुमाउनु परेको पीडाबीच अपराधीले सजाय पाएकोमा निर्भयाकी आमा खुशी छिन् । ‘आजको बिहान र आजको दिन निर्भयाको हो, निर्भयाजस्तै छोरीहरुको दिन हो । अपराधीलाई फासी मिलेको छ र हामीलाई न्याय ।’ उनले भनिन् ।

‘म सरकार तथा न्यायपालिकालाई धन्यवाद दिन चाहन्छु । मैले बिहानै मेरो छोरीको तस्विर लिएँ, मेरा आँखा रसाए र तस्विर छातीमा टाँसेर भने, छोरी आज तिमीले न्याय पायौ ।’ निर्भयाकी आमाले भनिन् ।

निर्भयाकी आमा आशा देवीले भनिन्, ‘सात वर्षको लामो लडाइपछि बल्ल छोरीको आत्मालाई शान्ति मिलेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *