टुँडिखेलमा ६ हजारभन्दा बढी विद्यार्थीले दिए संस्कृत परीक्षा

NEWS
Spread the love

काठमाडौं । काठमाडौंको टुँडिखेलमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न भएको छ ।

परीक्षामा काठमाडौं उपत्यकाका २२९ विद्यालयका ६ हजार पाँच सय ७८ विद्यार्थीको सहभागिता थियो ।

हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको परीक्षामा विद्यार्थीहरूले ५० वटा बहु वैकल्पिक उत्तर भएका प्रश्नको सही उत्तर छनोट गर्नुपर्ने थियो ।

संघले नै तयार पारेको प्रश्नोत्तरी पुस्तकबाट प्रश्न सोधिएका थिए ।

पुस्तकमा भएको ५३६ प्रश्नमध्येबाट जम्मा ५० वटा प्रश्न सोधिएका थिए ।

प्रतियोगितात्मक परीक्षामा सहभागीमध्येबाट १३५ विद्यार्थीले ५० वटै प्रश्नको सही उत्तर दिएर शतप्रतिशत अङ्क ल्याएका थिए ।

तीमध्येबाट गोलाप्रथाद्वारा मोक्षदा स्कुलका विपिन ढकाल प्रथम, गीता माता स्कुलका युगेश मगर द्वितीय र पाटन सेकेन्डरी स्कुलका विजय रावल तृतीय हुन सफल भए ।

त्यस्तै शतप्रतिशत मिलाउन सफल अन्य ५० विद्यार्थीलाई प्रोत्साहन पुरस्कारका लागि छनोट गरिएको थियो ।

प्रथम हुनेले ५१ हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र अन्य ५० जना विद्यार्थीले प्रोत्साहन स्वरूप जनही एक–एक हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गरेका छन् ।

कार्यक्रमका संयोजक महाश्रम शर्माले वर्तमान सन्दर्भमा आजका नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गरिनुपर्ने औचित्यलाई यस कार्यक्रमले सम्बोधन गर्ने बताए ।

विश्वका अनेक देशमा आफ्नो धर्म संस्कृतिबारे शिक्षा दिइने गरेको बताउँदै उनले नेपालमा यसतर्फ त्यति चासो नदिइएको अवस्था रहेको उल्लेख गरे ।

संघले अभियानकै रूपमा संस्कृति ज्ञान परीक्षालाई माध्यम बनाएर नयाँ पुस्तालाई सांस्कृतिक चिनारी दिने जमर्को गरेको उनले बताए ।

सर्वोच्च न्यायालयका पूर्व रजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिनाले आगामी दिनमा नेपालले श्रमिक मात्र निर्यात गर्ने नभइ, नेपालका बौद्धिक जनशक्तिले विश्वलाई नेतृत्व प्रदान गर्नसक्ने हुनुपर्नेमा जोड दिए । त्यसका लागि विभिन्न कार्यक्रम मार्फत् नयाँ पुस्तामा संस्कार, संस्कृतिको ज्ञान हस्तान्तरण गर्ने, नेपालका पावन तीर्थ, नदी–कुण्ड, हिमाल आदिबारे जानकारी दिने, नैतिक एवं मानवीय–मूल्यपरक शिक्षातिर अभिप्रेरित गर्ने जस्ता कुरा रहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि डा. जयराज आचार्यले नेपाललाई पुरानो जगमा नयाँपन दिने कार्य अब नयाँ पुस्ताको काँधमा आएको बताए ।

कार्यक्रममा संघका राष्ट्रिय सह–संघचालक कल्याण कुमार तिम्सिनाले हिन्दू स्वयंसेवक संघ नेपालको गतिविधिबारे जानकारी दिएका थिए ।

संस्कार, सेवा र संगठनलाई आफ्नो कार्यको माध्यम बनाएर समाजमा सकारात्मक जागरणका लागि संघले कार्य गरिरहेको उनले बताए ।

यसैक्रममा आफ्नो धर्म–संस्कृति, रीति, परम्परा, वैज्ञानिक पुर्खा, ज्ञानी महापुरुष, आदर्श नारी आदिबारे बोध गराउने उद्देश्यले स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा आयोजना गरिएको उनले बताए ।

कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरुले विविधतामा एकता दर्शाउने सांस्कृति नृत्य समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *