१७५ नेपालीको वुहानदेखि खरिपाटी यात्रा (तस्विरमा हेर्नुहोस्)

NEWS

काठमाडौं । चीनको वुहानबाट ल्याइएका १७५ जना नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना भाइरस संक्रमणको उदगमस्थलबाट ल्याइएकाले उनीहरुलाई कम्तीमा १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिने छ ।

यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा कुनै समस्या नदेखिएको बताइएको छ ।

विमानस्थलबाट पाँच वटा बस र एउटा एम्बुलेन्स मार्फत उनीहरुलाई खरिपाटी पुर्याइएको थियो ।

खरिपाटीमा राष्ट्रिय प्रयोगशालाका स्वास्थ्यकर्मीहरुले उनीहरुको नमूना परीक्षण गर्नेछन् ।

नमूना परीक्षण गर्दा कुनै शंका लागेमा उनीहरुलाई बिभिन्न अस्पतालमा बनाइएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ ।

वुहानबाट नेपाल फर्किएकाहरुमा १७० जना विद्यार्थी, एक जना कामदार, दुई जना पर्यटक तथा दुई जना नाबालक रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

६ जनामा भने ज्वरो देखिएको भन्दै चीनले वुहान विमानस्थलमै रोकेको छ । तीन जनाले भने नेपाल फर्कन इच्छा देखाएनन्, उनीहरु वुहानमै छन् ।

वुहानमा रहेका नेपालीहरुलाई उद्धार गर्न नेपाल वायु सेवा निगमको वाइडबडी विमान शनिबार वुहान पुगेको थियो ।

विमान आइतबार विहान ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलबाट उनीहरुलाई सीधै क्वारेन्टाइनका लागि भक्तपुर लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *