सिसिटिभीमा देखियो पूर्वसचिवपत्नीलाई कामदारले पिटेर घिसारेको दृश्य

समाचार
119 Shares

काठमाडौं । ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको श्रीमतीको हत्यामा घरको कामदारको संलग्नता रहेको प्रहरीले दाबी गरेको छ ।

कार्कीको निवासमा सीसीटीभी जडान गरिएको थियो । प्रहरीले सीसीटीभीको फुटेज हेरेर पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको निष्कर्ष निकालेको हो ।

कार्कीको घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुन सक्ने आशंका प्रारम्भमै गरिएको थियो ।

भान्छा छेऊ रहेको क्लोज सर्किट सीसी क्यामराको दृश्य हेरेपछि अनुसन्धान अधिकृत चौधरीले नै हत्या गरेको निष्कर्षमा प्रहरीहरु पुगेका छन् ।

‘फुटेजमा चौधरीले महिलालाई घाँटीमा समातेर घिसार्दै लगेको देखिन्छ ।’ प्रहरीका अनुसार, अनुसार यो दृश्य बिहान ९ बजेको हो ।

प्रहरीका अर्का उच्च अधिकृतले पनि फुटेजमा चौधरीले मुनालाई आक्रमण गरेको देखिएको पुष्टि गरेका छन् । यद्यपि, दुईबीच के रिसिइबी थियो भन्ने खुलिसकेको छैन ।

प्रहरीले हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ ।

छिमेकीका अनुसार चौधरीलाई कार्की परिवारले सानैदेखि घरमा राखेको थियो ।

प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की घरमा थिएनन् । उनी बिहानजै उठेर पशुपतिनाथको दर्शन गर्न गएका थिए । फर्किएर आउँदा उनले श्रीमती मुनालाई अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै उद्धार गरेर स्टार हस्पिटल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

अपराधस्थलमा फरेन्सिक विज्ञको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *