‘सम्बन्ध अनि सत्यता’

BLOG
Spread the love

कविता

व्यवहार केही जानेकी छैन,
सम्झाको केही मानेकी छैन।
कति ठूलो गुनासो थियो है तिम्रो ?
जब म तिम्रो सामीप्यतामा पुलपुलिएकी थिएँ
यादै छैन आमा, मलाई माफ गरिदेऊ
अन्जानमा कति हो कति दुःख दिए।

कति मन दुखाएछु है तिम्रो ?
आज घर छोडि टाढा पठाईदियौ
आफ्नो मन त थाम्यौ आमा तर
तिम्लाई छोडेर हिँड्दै गरेका,
मेरा ती हरेक पाइला भारी बनाइदियौ।

कसरी बिर्सिन्छु होला र
म त्यो घर छाडेको दिन,
जब एकातिर सबेरै उठी हतार–हतार
तिमी मेरा सामान बाँधिदिँदै थियौ भने,
अर्कोतिर, एकछिन भए पनि सुतोस्
नउठाउनु है उस्लाई भनी
बाबालाई सम्झाउँदै थियौ।

मलाई गाडी चढाएर हाँस्दै
राम्ररी जानु भन्दै गर्दाको क्षण
तिम्रो मन भक्कानिएको नदेखे पनि,
पछ्यौराको फेराले आँसु पुछ्दै फर्केको
भने पक्कै देखेकी थिएँ आमा ।

महसुस गरे आमा,
तिम्रो काखदेखि मेरो भविष्य सम्मको यात्रा
कोसौं–कोस टाढाको रहेछ ।
घिस्रिदा–घिस्रिदै कतै अन्जान गल्लीमा
आल्झिन्छु कि भन्ने मनमा त्रास बढ्या छ।

अब ती स–साना गुनासो गर्न भुलिदेउ आमा,
म जीवनका यथार्थहरु टिप्दै छु।
हेर, कति व्यवहारिक बन्दै छे,
तिम्रो छोरी
जस्तै कठोर समयमा नि आज बिक्दै छु ।

याद छ मलाई,
सानोमा म चिच्याएर रुँदा,
औँला देखाई चुप भन्थेउ है आमा ?
त्यही डरले सायद आज
आवाज ननिकाली रुन सिक्दै छु।

बिपना ढुङ्गाना

म्याङलुङ्ग, तेह्रथुम

Leave a Reply

Your email address will not be published. Required fields are marked *