काठमाडौं । नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा कार्तिक ९ गते (शनिवार) हुने भएको छ ।
काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुती सहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राति ८ः४० बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछन् ।
गत कार्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका ७ वटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको थियो । काठमाडौं, विर्तामोड, ईटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका अडिसन राउन्डहरुमा हजारौंको सहभागिता थियो ।
ती अडिसन राउन्ड पार गर्दै आएका प्रतियोगीहरु मध्येबाट हाल ५ जना प्रतियोगी अन्तिम प्रतिष्पर्धामा छन् । तिनै पाँच जना अन्तिम प्रतियोगीबाट एसएमएस भोटिङको आधारमा एक जना बिजेता छानिनेछन् भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिनेछन् ।
जसका लागि आफ्नो मोबाइलको इनबक्समा गई cc टाइप गरी आफ्नो मनपर्ने प्रतियोगीको कोड टाइप गरी 31009 मा पठाउनुपर्नेछ ।
यसका साथै छमछमी ४ को मोबाइल एप डाउनलोड गरेर पनि भोटिङ गर्न सकिने व्यवस्था छ । भोटिङ लाइन शनिबार राति ९ः३० बजेसम्मका लागि खुला राखिएको छ ।
अन्तिम ५ प्रतियोगीहरुमा दाङका आकाश विक (भोटिङ कोड नम्बर ०१), झापाका दिलमाया लिम्बु (भोटिङ कोड नम्बर ०३), महोत्तरीका नेशन सुश्लिङ मगर (भोटिङ कोड नम्बर ०५), मकवानपुरका सन्ध्या आचार्य (भोटिङ कोड नम्बर ०८) र पोखराका सपना धाही थापा (भोटिङ कोड नम्बर ०९) रहेका छन् ।
प्रतियोगिताको विजेताले Alto K-10 कार प्राप्त गर्नेछन् भने फस्ट रनरअपले ५ लाख बराबरको र सेकेण्ड रनरअपले ३ लाख बराबरको उपहार प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट सात जनाले १ लाख बराबरको उपहार प्राप्त गर्नेछन् ।
यस प्रतियोगिताका निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुँइटेल रहेका छन् ।
नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं सम्बद्र्धन गर्ने उद्देश्यले वि स २०६६ सालमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुवात भएको हो । यसको ग्रान्ड फिनालेमा सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटा लगायत विशिष्ट व्यक्तित्व तथा कलाकारको समेत सहभागिता रहनेछ ।
छमछमी नाम दिएर शुरु गरिएको नेपालकै पहिलो रियालिटी शोको पहिलो सिजनमा झापाकी अनुजा अग्रवाल विजेता भएकी िथइन् । सिजन २ मा झापाकै साजन तामाङ विजयी भएका थिए । यसैगरी तेस्रो सिजनको विजेता हेटौंडाका सरोज प्रजा भए ।
विभिन्न सिजनका विजेताहरुका साथै कार्यक्रमका अन्य प्रतियोगिहरुले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु गर्दै आएका छन्, जसले गर्दा कार्यक्रम छमछमी दर्शकमाझ झन् झन् लोकप्रिय बन्दै आएको छ । यस कार्यक्रमको प्रायोजन चौधरी ग्रुपले गरेको छ भने बजार व्यवस्थापन कि एडभरटाइजिङले गरेको छ ।