ललिता निवास जग्गा प्रकरण : दीप बस्न्यात पुर्पक्षका लागि थुनामा

समाचार
16 Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पूर्पक्षका लागि थुनामा राखिएको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना काण्डमा आरोपित बस्न्यातलाई विशेष अदालतको आदेश अनुसार पूर्पक्षका लागि थुनामा राखिएको हो।

सो काण्डमा आरोपित उनीलगायत धेरैजनाका विरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ ।

बस्न्यात भौतिक योजना सचिव हुँदा बालुवाटारस्थित ललित निवासको सरकारी जमिन व्यक्तिको नाममा सार्न उनले खेलेको भूमिकासहित तीन वटा अभियोग लगाइएको छ ।

बन्स्यातको निर्णयबाट सरकारलाई ९ करोड ६५ लाख रुपैया घाटा लागेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

२०७६ माघ २२ गते अख्तियारले बस्न्यातसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा तयार गरेको थियो ।

मुद्दामा कुल ११० जनालाई भ्रष्टाचारको कसुरमा र ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।

विशेष अदालतले यस प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइने बस्न्यात दोस्रो व्यक्ति हुन् ।

विशेष अदालतले यसअघि तत्कालीन मालपोत अधिकृत कृष्णप्रसाद पौडेललाई पनि थुनामा पठाउने आदेश दिएको थियो तर विशेषको आदेशलाई उल्ट्याउँदै सर्वोच्च अदालतले उनलाई २ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *