काठमाडौं, १५ मसिर । सरकारले नयाँ विधिबाट कोरोना भाइरस परीक्षण सुरु गरेको छ ।
परीक्षणपछि तुरुन्तै नतिजा आउने तथा फिल्डमै धेरै जनाको परीक्षण गर्न सकिने विधि एन्टिजेन जाँच सुरु गरिएको हो ।
अनामनगरलगायत काठमाडौंका चार-पाँच ठाउँमा अहिले बिहान यो परीक्षण सुरु गरिएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए ।
डब्लूएचओकै सहयोगमा सञ्चालन गरिएको यो निःशुल्क परीक्षण अभियान हो । सुरुमा एन्टिजेन परीक्षण काठमाडौं उपत्यकाबाट थालिएको छ ।
यो विधिका लागि स्वाब नै आवश्यक पर्ने तर आधा घण्टाभित्रमै नतिजा आउँछ ।
यसको ‘सेन्सिटिभिटी’ पिसिआर विधिको भन्दा राम्रो रहेकाले यो परीक्षण विश्वसनीय रहेको ड. पाण्डे बताउँछन् ।
उपत्यकामा प्रभावकारी देखिए यो परीक्षण अभियान देशभर सञ्चलान गरिने सरकारको योजना छ ।
काठमाडौं उपत्यकामा अब हरेक दिन ५०० जनाको एन्टिजेन विधिबाट कोरोना परिक्षण गरिनेछ ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर ४, ७ र ९ मा आज एन्टिजेन परिक्षण सुरु गरिएको छ ।
महानगरपालिकाका जोखिमयुक्त स्थान गौरीघाट, चाबहिल, विशालनगर, धुम्बाराही, बत्तीसपुतली र मित्रपार्कमा एन्टिजेन परीक्षण सुरु गरिएको हो ।
के हो एन्टिजेन परीक्षण ?
यो छिटो छरितो रूपमा कोरोना भाइरस पत्ता लगाउने एउटा विधि हो । यसका लागि पनि नाक र घाँटीबाट स्वाब लिनुपर्छ ।
तर कुनै प्रयोगशाला वा विशेष उपकरण चाहिँदैन । फिल्डमै गर्न सकिन्छ ।
सानो थर्मोमिटर भन्दा अलि मोटो लाम्चो र्यापिड एन्टिजेन किटमा एक थोपा स्वाब राख्दा लाइन आयो भने व्यक्तिमा कारोनो संक्रमण छ भन्ने भन्ने थाहा हुन्छ ।
पिसिआर परीक्षण गर्दा नतिजा थाहा पाउन ४८ देखि ७२ घण्टासम्म लाग्छ भने यसबाट करिब आधा घण्टामै थाहा पाउन सकिन्छ ।